काठमाडौं- अवैध मोबाइलको रोकथाम तथा नियन्त्रणका लागि नेपाल दूरसञ्चार प्राधिकरणले बिहीबारदेखि माेबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) सुरु गरेको छ ।यससँगै एमडीएमएसमा दर्ता नभएका फोनमा नेपाली सिम सपोर्ट हुनेछैन । यो व्यवस्था कार्यान्वयनमा आएसँगै धेरैकाे मनमा यससँग सम्बन्धित थुप्रै जिज्ञासा आइरहेका छन् ।
विशेषगरी विदेशबाट ल्याएका फोन एमडीएमएस प्रणालीमा दर्ता गर्न के गर्नुपर्छ ? वा दर्ता नगर्दा के हुन्छ भन्ने कुरा बढी खोजिएको छ । त्यसैगरी नेपाल घुम्न आउने पर्यटकले एमडीएमएसमा दर्ता गर्नुपर्छ वा पर्दैन जस्ता विविध विषयमा पनि जिज्ञासा आइरहेको छ ।
कुनै पनि फोन नेपाल बाहिरबाट ल्याई नेपाली सिम प्रयोग गर्नुपर्ने छ भने उक्त फोन एमडीएमएस प्रणालीमा अवश्य दर्ता गरेको हुनुपर्छ । प्रयोगकर्ताले उक्त फोन नेपालमा ल्याएको १५ दिनभित्र एमडीएमएस प्रणालीमा दर्ता गर्नुपर्ने व्यवस्था छ । यदि सो समयावधिमा फोन दर्ता गरेको छैन भने उक्त फोनमा नेपाली सिम सपोर्ट हुँदैन ।
त्यस्तै नेपाल आउने पर्यटकको हकमा पनि नेपाली सिम प्रयोग गर्नुपर्ने अवस्था छ भने दर्ता गर्नुपर्ने हुन्छ । दर्ता नगरेको अवस्थामा पनि उक्त फोनमा नेपाली सिम १५ दिनसम्म प्रयोग गर्न सकिन्छ । यदि १५ दिनभन्दा बढी सिम प्रयोग गर्नुपर्ने अवस्था छ भने उक्त फोन एमडीएमएस प्रणालीमा दर्ता गर्नुपर्ने हुन्छ ।
नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार कुनै पनि फोन नेपाल भित्र्याएर नेपाली सिम प्रयोग गरिएको छैन भने त्यसमा एमडीएमएम प्रणालीको कुनै कुरा आउँदैन ।उक्त फोनमा नेपाली सिम प्रयोग गरेपछि सो फोनको विवरण नेपाल दूरसञ्चार प्राधिकरणमा पुग्छ ।
त्यसैअन्तर्गत सिम प्रयोग भएको १५ दिनसम्म पनि फोन एमडीएमएस प्रणालीमा दर्ता भएन भने दूरसञ्चार प्राधिकरणले उक्त फोन ‘रेड लिस्ट’मा राख्छ । ‘रेड लिस्ट’मा राखेको फोनमा त्यसपछि नेपाली सिम सपोर्ट हुँदैन ।
यसबाट के बुझ्नुहाेस् भने विदेशबाट कसैले उपहार ल्याइदिएको वा कसैबाट मगाएका फोन छन् भने उक्त फोन एमडीएमएस प्रणालीमा दर्ता गर्नुपर्ने हुन्छ । अहिलेलाई नयाँ फोन एमडीएमएस प्रणालीमा दर्ता गर्न कुनै शुल्क लाग्दैन । तर, यो सुविधा केही महिनासम्म मात्र सीमित रहने दूरसञ्चार प्राधिकरणले बताएकाे छ ।
प्रकाशित मिति: सोमबार, असोज ३, २०७९ १३:२६