काठमाडौं– जिल्ला कारागार कार्यालय धुलिखेलले कारागारभित्र गलैँचा उद्योग स्थापना गरेको छ । कारागारभित्र रहेका कैदीबन्दीलाई काम दिने उद्देश्यले गलैँचा बुन्न सुरु गरिएको कार्यालयले जनाएको छ ।
एक पटकमा धागो तयार गर्नेसहित ५० कैदीबन्दीले गलैँचा बुन्ने काम गर्नेगरी व्यवस्थापन गरिएको कारागार कार्यालय प्रमुख गायत्री अधिकारीले जानकारी दिइन् । उनका अनुसार जिल्लाका नवराज केसीले ३० लाखको लगानीमा कारागारभित्र गलैचा उद्योग सुरु गरेका हुन् ।
‘कैदीबन्दीलाई कारागारभित्र रहँदा समय बिताउँदै आम्दानी गर्न सकुन् भन्ने उद्देश्यले उद्योग स्थापना गरिएको हो’, अधिकारीले भनिन् । यसअघि कैदीबन्दीले मुढा बनाउने तथा पोते बुन्नेलगायतका काम गर्दै आएका थिए ।
अधिकारीका अनुसार कारागारभित्र खाली रहेको जमिनमा प्रविधियुक्त मेशिन जडान गरिएको छ । केसीले उपलब्ध गराएका कच्चा सामग्रीबाट तयार भएका गलैचा आफैँले चीनमा बिक्री गर्ने योजना छ ।
कारागारका दक्ष तथा अदक्ष कैदीबन्दीलाई गलैँचा बुन्न सिकाइनेछ । कारागारले केही जानेकालाई थप सीप सिकाएर पूर्ण बनाउँदै अन्यलाई सिकाउँदै रोजगार उपलब्ध गराउने योजना बनाएको छ ।
प्रकाशित मिति: सोमबार, असोज ३, २०७९ १४:५१