लण्डन - बेलायतकी दिवंगत महारानी एलिजावेथ द्धितियको सोमबार अन्त्येष्टि गरिएको छ । बेलायतको स्थानीय समय अनुसार आज बिहान ११ बजे उनको अन्तिम संस्कार राजकीय परम्पराका आधारमा वेस्टमिन्स्टर एबीमा गरिएको हाे ।
स्वर्गीय महारानी एलिजावेथ द्धितियको कफिन वेस्टमिन्स्टर हलमा चार दिनदेखि राज्यमा राखिएकाे छ। अन्तिम श्रद्धाञ्जली अर्पण गर्न लाखौं मानिसहरु विगतमा पुगेका थिए ।
अन्त्येष्टि समारोहमा विश्वभरिका करिब दुई हजार शीर्ष नेता तथा विशिष्ट व्यक्तिहरूको उपस्थिति छ । ती मध्ये करिब पाँच सय जना विभिन्न देशका राजपरिवारका सदस्य, राष्ट्रपति, प्रधानमन्त्री लगायत शीर्ष व्यक्तिहरू हुन् ।
विभिन्न देशबाट आएका पाहुनाहरूको लागि बेलायतका नयाँ राजा चाल्सले आइतबार साँझ बकिङ्गम दरबारमा स्वागत समारोहको आयोजना गरेका थिए । विभिन्न देशबाट पाहुनाहरू आएकै बेला आइतबार साँझ ८ बजे बेलायत भरी राष्ट्रिय शोकका रूपमा मौन धारण गरिएको थियो ।
विभिन्न देशका पहुनाहरू र बेलायती बासिन्दा सहित लाखौँले गत सातादेखि नै उनको शवमा श्रद्धाञ्जली दिएका छन् । श्रद्धाञ्जली दिनका लागि गत हप्ताभर नै शव राखिएको ठाउँमा ठूलो सङ्ख्यामा लामबद्ध भएकाहरूको भिड लागेको थियो ।
बिहान ११ बजेपछि भने लामबद्ध भएर श्रद्धाञ्जली दिनेक्रम रोकेर अन्त्येष्टिको अन्य प्रक्रिया सुरु गरिएको थियाे । महारानीको शव पेटिकालाई वेस्टमिन्स्टरको दरबारबाट वेस्टमिन्स्टर एबीसम्म शवयात्रा गरिएकाे थियाे ।
अन्त्येष्टि समारोहमा सहभागी हुन बेलायतले अधिकांश देशका राष्ट्र तथा सरकार प्रमुखहरूलाई निमन्त्रणा गरेको थियो । महारानी एलिजाबेथको सेप्टेम्बर ९ मा निधन भएको थियो । बेलायतमा सबैभन्दा लामो समय शासन गर्ने महारानीको ९६ वर्षको उमेरमा निधन भएको हो । उनको निधनमा बेलायत सहित धेरै देशमा राष्ट्रिय शोक मनाउने घोषणा गरिएको थियो । -एएनआई
प्रकाशित मिति: सोमबार, असोज ३, २०७९ १६:०४