विराटनगर – आत्महत्याको दरलाई न्यूनीकरण गर्ने उद्देश्यले प्रदेश नं–१ सरकारले नेपाल प्रहरीसँग मिलेर सचेतना कार्यक्रम शुभारम्भ गरेको छ ।
मुख्यमन्त्री राजेन्द्र राईले यही असोज २ गते विराटनगरमा कार्यक्रमको शुभारम्भ गरेका हुन् । सो अवसरमा प्रहरी नायब महानिरीक्षक सुदीप गिरीले नागरिकको जीवनरक्षा गर्ने प्रहरीको मूल दायित्व र कर्तव्य रहेको बताए ।
नेपाल प्रहरीको कार्ययोजना २०७९ अन्तर्गत कार्यक्रम सुरु गरिएको बताइएको छ । प्रदेशका १४ जिल्लाका प्रहरी कार्यालयले विभिन्न सरोकारावाला निकायसँग मिलेर आत्महत्या रोगथामसम्बन्धी विभिन्न सचेतना कार्यक्रम जारी राखेका छन् ।
प्रदेश नं–१ मा आत्महत्या गर्नेको संख्या बर्सेनि बढ्दो छ । आत्महत्या गर्नेमा महिलाभन्दा पुरुष दोब्बरले बढी रहेको प्रहरीको तीन वर्षको तथ्यांकले देखाउँछ । प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना अधिकारी नवीनराज राईका अनुसार आर्थिक वर्ष २०७८/७९ मा एक हजार चार सय ८९ जनाले आत्महत्या गरेका छन् ।
तीमध्ये पुरुषको संख्या ९ सय २२ र महिला चार सय ४३ छन् । आव २०७७/७८ मा आत्महत्या गरेका एक हजार पाँच सय १६ मध्ये पुरुष आठ सय ९१ र महिला चार सय ७४ थिए।
आव २०७६/७७ मा आत्महत्या गर्नेको कूल संख्या एक हजार तीन सय ४४ रहेको थियो । जसमध्ये पुरुष सात सय ७० र महिला चार सय १६ जना थिए । प्रहरीका अनुसार झुण्डिएर, विषसेवन र औजारको प्रयोग गररे आत्महत्याका घटना भएका छन् ।
प्रदेशभरमा अधिक आत्महत्या हुने जिल्ला क्रमशः झापा, मोरङ र सुनसरी हुन् । आव २०७८/७९ मा झापामा तीन सय १४, मोरङमा तीन सय १४ र सुनसरीमा दुई सय १२ ले आत्महत्या गरेका छन् ।
पहाडी जिल्लामा भने सबैभन्दा बढी आत्महत्या इलाममा हुने गरेको छ । गत आवमा इलाममा एक सय २८ जनाले आत्महत्या गरेका थिए । आत्महत्या गर्ने बालबालिकाको संख्यासमेत कहाली लाग्दो छ ।
आव २०७८/७९ मा एक सय २४, आव २०७७/७८ मा एक सय ५१ र आव २०७६/७७ मा एक सय ५८ बालबालिकाले आत्महत्या गरेको पाइएको छ । ‘आत्महत्या यसै कारणले हुन्छ भन्न सकिँदैन’, प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना अधिकारी राईले भने ।
‘तर अधिकांश घटना आर्थिक लेनदेन र घरेलु विवादका कारण भएका देखिन्छन् ।’ यो कार्यक्रमले आगामी दिनमा आत्महत्याका घटना न्यूनीकरण हुने अपेक्षा गरिएको उनको भनाइ छ ।
प्रकाशित मिति: मंगलबार, असोज ४, २०७९ १२:२१