काठमाडौं – सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा उपाधि दाबेदार त्रिभुवन आर्मी क्लब बराबरीमा रोकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा आर्मी संकटा क्लबसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।
पहिलो हाफमा लिएको अग्रता जोगाउन नसक्दा १० खेलाडीमा सिमित बनेको आर्मीले संकटासँग अंक बाँडेको हो ।
खेलको २९ औं मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दै आर्मीलाई सुरुवाती अग्रता दिलाएका थिए । दिनेश हेम्जनले क्रसमा उनले उत्कृष्ट डाइभ हेड गोल गरेका थिए । जारी लिगमा नवयुगको यो दोस्रो गोल हो ।
तर, खेलको ५२ औं मिनेटमा आर्मी १० खेलाडीमा समेटियो । युद्ध शाही दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएर मैदानबाट बाहिरिदा आर्मी १० खेलाडीमा समेटिएको थियो । जसको फाइदा संकटाले लियो । आर्मी १० खेलाडीमा समेटिएको दुई मिनेट नबित्दै संकटा बराबरी फर्काउन सफल भयो । खेलको ५५ औं मिनेटमा अमित तामाङले पेनाल्टीमा गोल गर्दै संकटालाई हारबाट जोगाए ।
आर्मीका सुमन लामाले आङ्खनो डिबक्स भित्र ह्याण्डबल गरेपछि संकटाले पेनाल्टी पाएको थियो । जसमा अमित चुकेनन् । खेलमा आर्मीका जर्ज प्रिन्स कार्की म्यान अफ दि म्याच चुनिए ।
संकटासँगको बराबरीसँगै आर्मीले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ । दोस्रो स्थानको आर्मीले ६ खेलमा १३ अंक जोडेको छ । समान खेलमा समान अंक जोडेको मछिन्द्र फुटबल क्लब लिगको शीर्ष स्थानमा रहेको छ । संकटाले ६ खेलमा ८ अंक जोडेको छ । संकटा आठौं स्थानमा रहेको छ ।