काठमाडौं– धनगढी सेती प्रदेशिक अस्पतालमा १० दिनदेखि अनसनरत डा.गोविन्द केसीलाई थप उपचारको लागि काठमाडौं ल्याउने तयारी सुरु भएको छ ।
अस्पतालले केही दिनअघि नै उनको स्वास्थ्य अवस्था बिग्रिएको र थप उपचारको लागि सुविधासम्पन्न अस्पताल लैजान रेफर गरिसकेको थियो ।
तर गोविन्द केसीले भने माग पूरा नभइ अन्य स्थानमा नजाने अडान लिँदै आएका थिए ।
सिनियर डाक्टरहरूले उनलाई आज सम्झाइरबुझाइ गरेपछि काठमाडौं जाने मनस्थितिमा रहेको उनको उपचारमा सम्लग्न एक चिकित्सकले बताए ।
जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले पनि आज उनलाई जसरी पनि काठमाडौं लैजाने बताए ।
उनले भने, ‘साधन केमा लैजाने भन्ने टुंगो नलागे पनि उनलाई आज लैजान्छौं ।’ उपचारमा सम्लग्न चिकित्सकहरूका अनुसार उनको स्वास्थ्य अवस्था गम्भीर बनेको छ ।
फोक्सोमा संक्रमण, सुगर लेभल कम, रक्तचाप घटेको चिकित्सकहरूले बताए । यस्तै आमशयमा पनि रक्तश्राव भएको चिकित्सकहरूले बताएका छन् ।
समग्र स्वास्थ्य शिक्षाको सुधारको माग गर्दे उनी २०औं पटक अनसनमा बसेका हुन् । उनले यसअघि सरकारले गरेका सहमति कार्यान्वयनमा जोड लिएका छन् ।
प्रकाशित मिति: बुधबार, असोज ५, २०७९ १४:५४