काठमाडौं– लोकप्रिय गायक शिव परियार अमेरिकाको न्यूजर्सी राज्यको जर्सी सिटी काउन्सिलद्वारा स्थापित ‘ह्याम्लेट म्यानजुएटा अवार्ड ईन आर्ट्स’बाट सम्मानित भएका छन् । गायक परियार अमेरिकी सरकारको कला पुरस्कारबाट सम्मानित हुने संभवतः पहिलो नेपाली कलाकार हुन् । जर्सी सिटी काउन्सिल प्रेसिडेण्ट जोएस वाटरम्यानद्वारा प्रदान गरिएको उक्त कला पुरस्कार जर्सीसिटीकी प्रतिनिधि क्याथरिन तान्जे, जर्सी सिटी शहरको मेयरकी सल्लाहकार डा. विष्णुमाया परियार, जर्सी सिटी डेमोक्रेटिक पार्टीकी निर्वा्चित सदस्य रेणु शर्मा सापकोटा र एनआरएन न्यू जर्सी च्याप्टर प्रेसिडेण्ट समिर बुढाथोकीले संयुक्तरूपमा गायक परियारलाई प्रदान गरी सम्मान गरेका थिए ।
गायक परियारले आफ्नो २६ वर्षको सांगितिक यात्रामा ५ सय भन्दा बढी गीत गाइसकेका छन् भने १० वटा गीति एल्बममा ल्याएका छन् ।
जर्सी सिटी शहरमा १२ जनवरीमा न्यूजर्सी राज्यका नेपालीहरूको संयुक्त आयोजनामा भएको साँगीतिक एवं सम्मान साँझमा गायक परियारले आफ्ना सुमधुर गीतहहरू मनोरञ्जन दिलाएका थिए ।
गायक परियारको ‘पिउँदिन भन्दा भन्दै पिलायो साथी’लगायतका चर्चित गीत छन् । उनका एल्बमहरू मोक्ष्य (२००५), स्वयम (२००८), कदम्बिनी (२००८),क्या दामी (२००९), फाटेको मन(२०१०), पागल (२०११), कथाले मागेपछि (२०१२), ओन्ली यू मेरो साथी (२०१२), टाढाको साथी(२०१३) र शिव बूक (२०१५) छन् । रेडियो नेपालद्वारा सन् २००३ मा आयोजित आधुनिक गीत प्रतियोगितामा प्रथम भएका गायक शिव परियारले त्यसयता थुप्रै अवार्ड तथा सम्मान पाएका छन् ।