काठमाडाैं - पालुङ्गटारलाई स्मार्ट सिटि बनाउने अर्थमन्त्री जनार्दन शर्माले घोषणा गरेका छन् ।बुधबार दाेस्राे लिगलिग पालुङ्टार महाेत्सव उद्घाटनमा अर्थमन्त्री जनार्दन शर्माले पालुङ्टारमा साे बताएका हुन्।
अर्थमन्त्री जनार्दन शर्माले इतिहास र वर्तमानमा राजनैतिक उचाइ हासिल गरेकाे गाेरखा जिल्लाले यतिबेला विकास निर्माण र समृद्धिकाे सन्दर्भमा न्याय खाेजेकाे बताए । त्यसको लागि एतिहासिक लिगलिगकाेट र आधुनिक पालुङ्टारलाई जाेडेर राजनैतिक इतिहास सहितकाे पर्यटन विकासलाई अगाडि बढाउनुपर्ने बताए ।
पालुङ्टारलाई सुचनाप्रविधिमा अघि बढाइ स्मार्ट सिटि बनाउनुपर्ने भन्दै संघीय सरकार र अर्थमन्त्रालयबाट यसकोलागि सम्पूर्ण सहयोग हुने उनले बताए । "स्मार्ट सिटिमा गरीवी र अभाव भन्ने कुरा हुँदैन। पालुङ्गटारले त्यो समृद्दिको उचाइ पनि हासिल गर्नेछ।" उनले अहिले देशलाई उत्पादनसँग जाेडेर आयातित वस्तुलाइ विस्थापन गर्नुपर्नेमा पनि जोड दिए ।
"नजिकै नदि बगिरहेकाे छ तर हामीले हाम्रा सुख्खा टार सिञ्चाइ गर्न सकिरहेका छैनाैँ, याे पानीलाइ टारमा ल्याउने याेजना प्राथमकितामा राख्नुपर्दछ । यसकालागि सरकारले पर्याप्त बजेट प्रदान गरेकाे छ बजेट खर्च गर्दै कामलाइ द्रुत गतिमा अघि बढाउन अनुराेध गर्दछु"- मन्त्री शर्माले पालुङ्ग्टारमा उपस्थित स्थानिय जनतालाई सम्बोधन गर्दै बताए।
देशमा एउटा पनि मल कारखाना नभएकाे र जापानिज कम्पनीले मल कारखाना खाेल्न चासाे राखेकाले भूगाेल र विद्युत आपुर्तीका कारणले आफूले यसै क्षेत्रलाइ सिफारिस गरेकाे उनले बताए । नेपालको मध्य पहाडी लाेकमार्ग पालुङ्टार भएर अघि बढेकाे बताउदै उक्त राजमार्ग निर्माणको योजना माओवादी सरकारले ल्याएको पनि स्मरण गराए।
संघीयता कार्यन्वयनका लागि दलहरुवीच राजनैतिक एकता र सहकार्य अपरिहार्य भएकाेले गठबन्धन दलका कार्यकर्ताले आफुलाई याे चिन्ह मन परेन, म साँसद बन्न पाइन भनेर मत विभाजन गर्नुहुँदैन भन्नेमा जोड दिए। यो गठबन्धन कसैलाई सांसद बनाउन र मन्त्री बनाउन नभएर ठुलो राजनीतिक परिवर्तन पछि स्थापना भएको व्यवस्थालाइ मजबूत बनाउदै समाजवादको दिशामा अगाडी बढ्नको लागि भएको पनि उनले बताए।
संघीयतालाइ स्थापित गर्न सबै एक भएर अघि बढ्नु अहिलेकाे आवश्यकता रहेकाे बताउँदै पालुङ्टारमा बसेर विकास भएन , हामीलाइ विकास चाहियाे भनेर भन्न पाउनु संघीयताकाे उपलब्धि भएकाे पनि उनले बताए । संघीय लाेकतान्त्रिक व्यवस्थाकाे अस्थित्व भनेकाे राजनैतिक पार्टीहरुकाे अस्थित्व रहेकाे विचार व्यक्त गर्दै उनले जोड दिए - "संघ, प्रदेश र स्थानीय सरकार जनताकाे सेवक हाे शासक हाेइन।"
सरकारले लिएकाे राम्रो आर्थिक नीतिका कारण अहिले नेपालका आर्थिक सुचाङकहरु सकरात्मक अवस्थामा पुगेका बताउँदै उनले केही तरलताकाे अभाव अझै कायम रहेको र यसमा सरकारले काम गरिरहेको पनि उहाले बताए ।
बैँकमा व्याज पाउने उदेश्यले पैसा थुपारेर उत्पादन नहुने बताउदै वैँकले दिने गरेकाे व्याज घटाउन सरकार लागि परेको स्पस्ट पार्दै सबै नागरिकहरुलाइ आत्मनिर्भर बनाउन सरकारले सक्दो प्रयास गर्ने उनले बताए। लिगलिग पालुङ्टार उद्याेग वाणिज्य संघ गाेरखाकाे आयाेजनामा भैरहेको महाेत्सव भदौ ११ गते सम्म चल्ने आयाेजक संस्थाका अध्यक्ष मान बहादुर आलेले बताए ।
प्रकाशित मिति: बिहीबार, असोज ६, २०७९ ०९:२६