टीकापुर– गत हप्तालगातारको वर्षापछि आएको बाढीले विद्यालयसमेत डुबानमा परेपछि कैलालीको भजनीका केही विद्यालय सञ्चालनमा आउन सकेका छैनन् । विद्यालय बन्द भएपछि बालबालिकाको पढाइ प्रभावित भएको छ ।
बाढीले विद्यालयमा छ फिटसम्म पानी पुगेको विद्यालयका प्रधानाध्यापक रामबहादुर चौधरीले बताए ।“बाढीले विद्यालय सबै डुब्यो, कक्षाकोठा, कार्यालय भवन सबैमा पानी पस्यो, कार्यालयका केही सामान रहेनन्”, उनले भने, “बाढीले कागजात, पाठ्यपुस्तक, खेलकुद सामग्री, शिक्षक निर्देशिका, बालबालिकाका हाजिरी रजिष्टरलगायतका सबै सामान भिजेर नष्ट भए ।”
प्रधानाध्यापक चौधरीका अनुसार विद्यालयमा अझै हिलाम्मे रहेकाले सरफाइ गर्न समस्या भइरहेको छ ।
भजनी–८ जनकपुरस्थित इभन बाबा आधारभूत विद्यालयमा पनि बाढीले क्षति भएको छ । विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद चौधरी बाढीले विद्यालयमा लाखौँको क्षति भएको बताउछन्। “विद्यालयमा तीन फिटसम्म पानी पस्यो । विद्यालयमा दिवाखाजा क्यान्टिन भत्किएको छ”, प्रधानाध्यापक चौधरीले भने, “कक्षाकोठामा बिच्छ्याइएका २० वटा कार्पेट नष्ट भएका छन् । अहिले सरसफाइ चलिरहेको छ । लाखौँको क्षति भएको छ ।”
भजनी नगरपालिकाका शिक्षा अधिकृत पङ्खबहादुर शाहले ३५ विद्यालयमा बाढीले क्षति पुगाएको बताए। “३५ विद्यालयमा पानी पसेको छ । विद्यालयका कागजात, शैक्षिक सामग्री, कम्प्युटर क्षति भएका छन्”, उनले भने, “अधिकांश विद्यालयमा बाढीपीडित आश्रय लिएर बसिरहेको छ । विद्यालयमा पढाइ प्रभावित भएको छ ।”
शिक्षा अधिकृत शाहले विद्यालयमा भएको क्षतिको विवरण सङ्कलनका लागि शुक्रबार प्रधानाध्यापकको बैठक आहवान गरिएको जानकारी दिए। “यहाँ ३९ सामुदायिक विद्यालय, १५ संस्थागत विद्यालय छन्, अहिलेसम्म दुई विद्यालयबाट निवेदन आएको छ”, उनले भने, “शिक्षामा ठूलो क्षति भएको छ । ठूलो नोक्सान भएको छ । कतिपय विद्यालयका पर्खाल भत्किएका, पुस्तकालय नष्ट भएका छन् । विवरण सङ्कलनपछि राहतका कार्यक्रम हुनेछन् ।”
प्रकाशित मिति: बिहीबार, असोज ६, २०७९ १५:०८