इस्लामावाद–पाकिस्तान नियन्त्रित काश्मिरमा कम्तीमा १६ जनाको मृत्यु भएको छ । अधिकारीले मङ्गलबार दिएको जानकारीअनुसार हिमपहिरो र हिमपातसम्वन्धी विभिन्न घटनामा परी अरु कैयौँ बेपत्ता पनि भएका छन् ।
पछिल्लो २४ घण्टामा भएका घटनामा परी उनीहरूको मृत्यु तथा बेपत्ता भएको मुजाफरवादका आयुक्त इम्तीयाज अहमदले जानकारी दिएको छ ।
उनका अनुसार अहिलेसम्म कम्तीमा दश जना बेपत्ता भएका विवरण प्राप्त भएका छन् । घटनास्थलमा खोजी तथा उद्धार जारी रहेको पनि अधिकारीले बताएका छन् ।
मृत्यु भएकामध्ये अधिकांशको पाकिस्तान नियन्त्रित काश्मिरमा पर्ने निलम उपत्यकामा रहेका जनाइएको छ । दर्जनौँ घर, सवारी साधन र पसल पनि क्षतिग्रस्त भएको आयुक्त अहमदले जानकारी दिएको छ । त्यस क्षेत्रमा पछिल्लो समय हिमपात, हिमपहिरोलगायत वर्षासम्वन्धी विभिन्न घटना भएको पनि उनले बताए ।
लावत गाउँमा रहेको एक विद्यालयतर्फ गइरहेका १० जना विद्यार्थी पनि हिउँ पहिरोमा परेको सरकारी अधिकारीले जनाएका छन् । उनीहरूमध्ये तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो भने अरु घाइते भएका थिए । त्यस्तै घटना अन्य ठाउँमा पनि भएका छन् । डाक्कि चाक्नार क्षेत्रमा भएको अर्को घटनामा परी अरु छ जनाको मृत्यु भएको छ । त्यहाँ घरमै हिमपहिरो खसेको थियो ।
पहिरोले च्यापिएका अन्य स्थानीयको उद्धार कार्य भइरहेको जनाइएको छ । (रासस÷सिन्ह्वा)