तनहुँ- तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन केबलकार सञ्चालनमा आउने भएकाे छ । विसं २०७५ साउनदेखि निर्माणाधीन केबलकार परियोजनाको काम ७५ प्रतिशत सकिएकोमा बाँकी काम द्रुत गतिमा अगाडि बढाइ अगामी वैशाख १ गतेदेखि सञ्चालनमा आउने भएकाे बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले जनाएकाे हाे ।
विसं २०७५ साउनदेखि निर्माण सुरु भएको केबलकार परियोजना विभिन्न कारणले ढिलाइ हुँदै आएको लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले बताए । “दुई वर्ष त कोभिड–१९ र बन्दाबन्दीका कारण परियोजनाको काम नराम्ररी प्रभावित भयो”, उनले भने, “त्यसयता पनि निर्माण सामग्री समयमै आउन नसक्दा काम ढिलाइ हुँदै आयो । तर अहिले तीव्ररुपमा काम अगाडि बढेको छ ।” उनका अनुसार यतिबेला केबलकार परियोजनाको काम दु्रत गतिमा अगाडि बढाइएको छ ।
“ विसं २०८० वैशाख १ गतेदेखि केबलकार सञ्चालनमा आउँछ, केबलकारको टावर जडान सुरु भएको छ”, उनले भने । शर्माका अनुसार केही दिन अगाडि मात्रै केबलकारका सामान झारिएको छ । “टावरको सामान आउन ढिलाइ भयो, अहिले सामान झारेर काम सुरु भएको छ”, उनले भने।
बन्दीपुर गाउँपालिका–४ बरालथोकमा पाँच तारे होटलको निर्माण कार्य भने तीव्र गतिमा भइरहेको छ । केबलकार सिधै होटलभित्र छिर्ने प्रविधिसहित काम भइरहेको छ । पाँचतारे होटलसहितको केबलकारमा लगानी वृद्धि भएको छ ।पाँचतारे होटलसहित निर्माण भइरहेको परियोजनाको काम हालसम्म ७५ प्रतिशत सकिएको बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले जनाएको छ ।
केबलकार र होटलको क्षमता बढेकाले लगानी पनि वृद्धि भएर रु दुई अर्ब ६० करोड पुगेको छ । यस अगाडि केबलकारको क्षमता प्रतिघण्टा तीन सय रहेकामा त्यसलाई बढाएर पाँच सय पुर्याइएको छ ।
होटलको कोठा सङ्ख्या ६६ रहेकामा त्यसलाई बढाएर ८७ पुर्याइएको छ । दश तल्लाको होटलसहितको भवनमा आधुनिक भ्यूटावर, बेनक्युट हल र ८० कोठाका स्तरीय होटल निर्माण हुनेछ । होटलको पूर्वाधारको काम सकिएको र फिनिसिङको काम बाँकी रहेको शर्माले बताए ।
कम्पनीले केबलकारभित्रै रेस्टुराँ सञ्चालनको तयारीसमेत गरेको र साँझ ५ बजेपछि केबलकारभित्रै रेस्टुराँ सञ्चालन हुने बताइएकाे छ । एक घण्टाको रु २५ हजार शुल्क तिरेपछि रु १०/१५ हजार बराबरको खानाको सुविधा पनि दिइने जनाइएको छ ।
प्रकाशित मिति: शुक्रबार, असोज ७, २०७९ १५:५९