काठमाडौं– बझाङको खप्तडछान्ना–५ कि किष्णा जोशी गत शुक्रबार ओरालु (सैन्डाँडा) मेलाका लागि अघिल्लै दिन खप्तड पुगिन् । खप्तड जाँदा उनलाई लेक लाग्न सुरु भयो । कागती र केही खाजा बोकेकी उनीलाई हिँड्न सहज त भयो तर रिँगटा लाग्ने भने ठीक भएन ।
गाउँमा आफन्तसँग फोनमा कुरा गरेर आफ्नो समस्या सुनाएपछि नेपाली सेनाको व्यारेकबाट उनलाई औषधि उपलब्ध गराइयो र उनलाई ठिक भयो । बाजुरा काँडाका श्यामलाल रोकायाले पनि खप्तड जाँदा त्यही समस्या भोगे ।
दहपाटनबाट हिँड्नै नसक्ने भएका रोकाया खप्तड व्यारेक पुगेपछि भने सेनाले उपलब्ध गराएको औषधिले निकै राहत गरेको सुनाए । आधा घण्टा ब्यारेकमा आराम गरेपछि भने रोकाया त्रिवेणी पुगेर पूजाआजापछि घर फर्किए ।
खप्तडमा यस्ता समस्या हुने दर्जनौँ नागरिकको ओखती बनेको छ, खप्तड व्यारेक । पर्यटक, गोठाला, तीर्थालु भक्तजनलाई पछिल्लो दशकयता भने खप्तडमा बिरामी हुँदा चिन्ता हुँदैन ।
नेपाली सेनाको व्यारेकबाट उपलब्ध हुने औषधि खाँदा सामान्य बिरामी सजिलै ठीक हुने स्थानीय विनोद रावलले बताए । खप्तडमा यस्ता समस्या दिनहुँ हुने भएपछि नेपाली सेनाले पनि विभिन्न मेलामा निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्दै आएको छ ।
मेलामा धेरै टाढाबाट र कहिल्यै नआउने तीर्थालुलाई लेक लाग्ने समस्या हुन थालेपछि मेला भइरहेको क्षेत्रभित्रै शिविर आयोजना गर्दै आएको श्री सिंह शार्दुल गुल्म खप्तडका गुल्मपति विनोदकुमार सिलवालले बताए ।
ओरालु सैन्डाँडा मेलामा मात्रै होइन, जगन्नाथ मेला, दशहरामा पनि हजारौँ तीर्थालु भक्तजनले सेनाको शिविरबाट सेवा लिने गर्छन् । ओरालु सैन्डाँडामा मात्रै नेपाली सेनाले सञ्चालन गरेको स्वास्थ्य शिविरबाट २५० बढीले सेवा लिएको सिलवालले बताए ।
उनका अनुसार गत महिना जगन्नाथ मेलामा पनि १४१ जनाले सेवा लिएका थिए । बर्सेनी लाग्ने गंगा दशहरा मेलामा त हजारौंको संख्यामा बिरामीको जाँच तथा उपचार हुन्छ ।
नेपाली सेनामा कार्यरत स्वास्थ्यकर्मीले दशहरा मेलामा दुई दिनसम्म निःशुल्क उपचार गर्ने गरेको उनले बताए । खप्तडमा लाग्ने मेलामा हरेक वर्ष सेनाले स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।
गुल्मपति सिलवालका अनुसार अग्लो ठाउँमा चढ्दा तीर्थालु तथा पर्यटकलाई लेक लाग्ने समस्याका बिरामी व्यारेकमा बढ्दै गएपछि मेलामा शिविर नै आयोजना गरिएको हो । व्यारेकमा पनि दैनिकजसो १५/२० जनाले स्वास्थ्य सेवा लिइरहेको उनले बताए ।
जनैपूर्णिमाको अवसरमा लाग्ने सानो मेलामा समेत नेपाली सेनाले सयौंको संख्यामा तीर्थालु तथा भक्तजनको उपचार गरेको छ । हरेक मौसममा खप्तड भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई पनि खप्तडमा स्वास्थ्य उपचारका लागि कुनै समस्या नहुने उनले बताए ।
उनले भने, ‘हामीसँग औषधि भए जति आउने सबै बिरामीको उपचार गरेर पठाउँछौँ । औषधि अपुग भएमा विभिन्न स्वास्थ्य संस्थासँग समन्वयमा औषधि ल्याउने गरेका छौँ ।’ नेपाली सेनाले पर्यटकीय क्षेत्रमा पर्ने मेलामा हरेक वर्ष निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्दै आएको छ ।
बडिमालिकाको त्रिवेणी इलाका, खप्तड, रसुवाको गोसाइँकुण्ड गाउँपालिका-५ चोलाङ्लापाटी, काभ्रेको गोसाइँस्थानलगायतका क्षेत्रमा त एकै सिजनमा हरेक वर्ष शिविर आयोजना गर्दै आएको उनले बताए ।
प्रकाशित मिति: शनिबार, असोज ८, २०७९ १२:४१