काठमाडौं– कैलालीको अत्तरियास्थित सार्वजनिक शौचालय प्रयोगविहीन हुँदा यहाँको बजार नै दुर्गन्धित बनेको छ । दुई वर्षअघिदेखि बन्द अवस्थामा रहेको शौचालय प्रयोगमा नआउँदा उक्त स्थानबाट बजारमा आवतजावत गर्नै मुस्किल हुने गरेको स्थानीयको दुःखेसो छ ।
विसं २०६२ मा तत्कालीन अत्तरिया खानेपानी तथा सरसफाइ उपभोक्ता समितिद्वारा निर्माण गरिएको उक्त शौचालय कोरोना महामारीपछि प्रयोगविहीन छ । शौचालय बन्द हुँदा मादक पदार्थ सेवनकर्ता र मानसिक अवस्था ठिक नभएका व्यक्तिले शौचालय वरपर जथाभावी शौच गर्ने गरेका कारण दुर्गन्ध बढेको बताइएको छ ।
उक्त क्षेत्रबाट शौचालय व्यवस्थापन नभए हटाइनुपर्ने स्थानीयको माग छ । शौचालय वरपर रहेको डिके तरकारी पसल सञ्चालन गर्दै आएका दिलाराम विकले शौचालय बन्द भए पनि यात्रुले चारैतिर अझै पनि दिसापिसाब गर्ने गरेकाले दुर्गन्ध बढेको गुनासो गरेको छ ।
उनले शौचालय सञ्चालन हुँदा पनि सरसफाइमा ध्यान नदिँदा निकै दुगन्धित बनेका कारण आफूहरूले पसल नै बन्द गर्नुपर्ने अवस्था आएपछि शौचालय बन्द गर्न लगाएको बताए। “यो शौचालयको सेफ्टिट्याङ्की भरिएको छ, त्यसपछि शौचालयको जिम्मा लिएका मानिसले शौचालयकै पछाडि रहेको खल्लामा ट्याङ्कीको फोहर फाल्न थाले”, उनले भने, “त्यस्तो समयमा पसलमा बस्नै नसकिने अवस्था हुन्थ्यो, त्यसैले हामी नजिकका व्यवसायीहरूले यसलाई बन्द गर्ने माग गरेका थियौँ ।”
उनले शौचालय बन्द भए पनि शौच गर्ने मानिसले बाहिरै शौच गर्न थाल्दा झन् बढी दुर्गन्ध फैलन थालेकाले शौचालयलाई उक्त स्थानबाट हटाइनुपर्ने बताए । “सुरुआतमा यात्रुवाहक बस रोकिन्थे, बसपार्क यतै थियो, त्यसैले शौचालयको आवश्यकता थियो”, उनले भने, “तर अहिले बसपार्क माथि छ, बसपार्कमा शौचालय छँदैछ, यो शौचालयको काम नै छैन ।”
शौचालयको दुर्गन्धका कारण आएका ग्राहकहरू पनि नाक थुनेर भाग्ने गरेको उनले बताए । उनले शौचालयलाई हटाउन पटक–पटक नगरपालिका धाए पनि आफूहरूको गुनासो सम्बोधन नभएको बताए। सोही क्षेत्रमा होटल सञ्चालन गरिरहेका किरण बोहराले शौचालयका कारण व्यापारमा ठूलो समस्या भइरहेको बताए।
“आउने बाटो त्यतै छ, शौचालयको दुर्गन्धका कारण ग्राहक परैबाट भाग्छन्, समस्या छ”, उनले भने, “त्यो शौचालयका कारण यो समाज नै फोहर भइसकेको छ ।” उनले चालु अवस्थाको भन्दा बन्द अवस्थामा रहेको शौचालयले बढी दुर्गन्ध फैलाइरहेको बताए।
यस्तै गोदावरी होटल व्यवसायी सङ्घ अत्तरियाका सचिव रवीन्द्र खड्काले शौचालयका कारण बजारमा दुर्गन्ध बढेकाले चोकमा रहेको शौचालय हटाइनुपर्ने बताए । उनले बजारको मुख्य क्षेत्रमा नै दुर्गन्धित शौचालय हुँदा आएका पर्यटकमाझ पनि नराम्रो प्रभाव परिरहेको बताए । शौचालयको दुर्गन्धका कारण होटल व्यवसाय सञ्चालन गर्नमा सबैभन्दा ठूलो समस्या भइरहेको उनले बताए ।
प्रकाशित मिति: आइतबार, असोज ९, २०७९ १०:३५