ललितपुर– सानिमा बैंक लिमिटेड र पाटन अस्पतालबीच निम्न आर्थिक अवस्था भएका महिलाहरूको उपचारका लागि गतवर्ष भएको सम्झौता नवीकरण गरिएको छ । सम्झौताअन्तर्गत सानिमा बैंकले निम्न आयस्तर भएका महिलालाई प्रति व्यक्ति रु. बीस हजार (रु. २०,०००)सम्म उपचारका लागि सहयोग उपलब्ध गराउँदै आएकोमा सो सम्झौता पुनःनवीकरण गरिएको छ । सानिमा बंैकले प्रत्येक “नारी बचत खाता”बापत बैंकको तर्फबाट मासिक रु. १ को दरले नारी सामाजिक कोषमा रकम जम्मा गर्दैै आएकोे जनाएको छ । उक्त संकलित रकम नारी उत्थानका लागि खर्च गर्ने उद्देश्यले नै बैंकले पाटन अस्पतालसँग सम्झौता गरेको हो । उक्त सम्झौतापत्रमा सानिमा बंैकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहाल र पाटन अस्पतालका तर्फबाट निर्देशक डा. विष्णु प्रसाद शर्माले हस्ताक्षर गरेका छन् ।