काठमाडौं– प्रहरीले कपिलवस्तुमा दशै तिहार र छठलाई लक्षित गरेर प्रहरीले सुरक्षा योजना बनाएर काम अगाडि बढाएको छ । चाडपर्वका बेला अपराधिक क्रियाकलापको सम्भावनालई मध्यनजर गर्दै नियन्त्रण गर्न प्रहरीले विशेष सुरक्षा योजना बनाएको हो ।
सम्भावित अपराधिक गतिविधि नियन्त्रण तथा दुर्घटना रोक्न प्रहरीको उपस्थिति र सूचना संकलनको कामलाई प्रभावकारी बनाउन १२ सय ४८ जना प्रहरी परिचालनसहितको सुरक्षा रणनिति बनाइएको रूपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए ।
उनले भने, ‘शान्ति सुरक्षालगायत ट्राफिक व्यवस्थापनकै लागि जिल्लामा थप ५० प्रहरी ल्याई भएको जनशक्तिको अधिकतम प्रयोग गर्ने गरी योजना बनाएका छौ । चाडबाडमा नागरिक सुत्दा पनि प्रहरी जागेको हुन्छ ।’
सामान्य अवस्थामा भन्दा अहिले सुरक्षाकर्मी २० प्रतिशतले बढाइएको छ । अवैध गतिविधि गर्नेहरूलाई अन द स्पट कारबाही गर्नेगरी प्रहरी चौबीसै घन्टा आमनागरिकको सुरक्षामा खट्ने छ ।
सन्देशमूलक सचेतनाका कार्यक्रम पनि भीडभाड हुने ठाउँ र सीमा क्षेत्र राखिने छ ।
आर्थिक कारोबार बढी हुने सुनचाँदी पसल, बैंक तथा वित्तीय संस्थामाथि सुरक्षा निगरानी वृद्धि गर्ने, स्वदेश फर्कने नेपालीमाथि सीमा नाकामा हुनसक्ने हैरानी, लुटपाटलाई मध्यनजर राखी सुरक्षा सतर्कता बढाउने र नेपाल फर्कन सहजीकरण गर्ने, आवश्यकताअनुसार मुख्य राजमार्गमा रातको समयमा गस्ती र चेकिङ गर्ने कार्य हुनेछ ।
जिल्लामा यात्रूहरू सहजताका लागि सहजीकरण गर्न बेलहिया, भैरहवा र बुटवल बसपार्कमा यात्रू सहायता कक्ष बिहीबारबाट स्थापना भइसकेको छ ।
रूपन्देही प्रहरी प्रवक्ता डीएसपी श्यामु अर्यालले भने, ‘बेलहियामा पार्किङलाई व्यवस्थित गरेका छौ, परदेशबाट आ-आफ्नो घर फर्कने क्रममा सीमा क्षेत्रमा ठगिने, लुटपाट हुने, हैरानी खेप्नुपर्ने, जस्ता काम नहोस् भन्न सदिग्द ठानिएमा सादा पोशाकका प्रहरी पनि तैनाथ गरिएको छ ।’
बजार अनुगमन गरी कालोबजारी हु्न र कृत्रिम अभाव हुन नदिन र विभिन्न मठमन्दिर, पूजाअर्चना गर्ने स्थान, दुर्गाको मूर्तिहरू ल्याउने र विसर्जन गर्ने समस्यामा सुरक्षा व्यवस्था मिलाउने, सीमा क्षेत्रमा हुने लुटपाट, चोरी-डकैतीलगायतका घटना हुन नदिन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, भारतीय प्रहरी, एसएसबी, संचारकर्मी, उद्योगी-व्यवसायी, स्थानीय, भारतीय व्यापार मण्डलसमेतसँग समन्वय गरि सुरक्षा प्रबन्ध चुस्त बनाउन कार्यालय प्रमुखसहितको टोली सुरक्षार्थ खटिने अर्यालले बताए ।
प्रकाशित मिति: सोमबार, असोज १०, २०७९ १३:०२