काठमाडौं- गोरखाको मनास्लु हिमालमा गएको हिम पहिरोमा घाइते एक जनाको मृत्यु भएको छ । ८ हजार १ सय ६३ मिटर अग्लो मनास्लु हिमालको ३ नम्बर र ४ नम्वर बेसक्याम्पको बीचमा सोमबार गएकाे हिम पहिरोमा परि एक जनाको मृत्यु भएकाे र चार जना घाइते भएकाे जनाइएकाे छ ।
साे हिमालमा सोमबार बिहान साढे ११ बजेतिर हिमपहिरो गएको थियो । हिम पहिराे गएकाे क्षेत्र करिब ६ हजार ८ सय मिटरको उचाइमा रहेको बताइन्छ ।
घाइते भएका चार जनामध्ये दुई जनाको उद्दार हेलिकप्टरबाट गरी काठमाडौं ल्याइएको जनाइएकाे छ । थप दुई जनाको उद्दारका लागि हेलिकप्टर बेसक्याम्पमै तयारी अवस्थामा रहेको पर्यटन विभागका लियाजन अफिसर यशोदा अर्यालले जानकारी दिएका छन् ।
बेसक्याम्पबाट उद्दार गरेर सामागाउँ ल्याउन सिम्रिक एयर र त्यहाँबाट काठमाडौं ल्याउन कैलाश एयरको हेलिकप्टर प्रयोग गरिएको छ ।
माथिल्लो बेसक्याम्पका लागि सामान ओसार्दै गरेका १३ जना हिमपहिरोमा परेका थिए । अर्यालका अनुसार मनास्लु क्षेत्रको मौसम खराव छ । खराब मौसका कारण उद्दारमा कठीनाइ भएको उनको भनाइ छ ।
प्रकाशित मिति: सोमबार, असोज १०, २०७९ १८:५६