काठमाडौं– चितवनको इच्छाकामना गाँउपालिकाले राजमार्गमा राखिएका होर्डिङबोर्डका प्रचार सामग्री हटाउन सुरु गरेको छ । गाउँपालिकाको अनुमतिबिना अनधिकृतरूपमा राखिएका र सम्झौताको म्याद सकिएका प्रचार सामग्री हटाउन थालिएको हो ।
एक हप्ताको सूचना जारी गरेर प्रचार सामग्री हटाउन अनुरोध गर्दा पनि अटेर गरेपछि गाउँपालिका आफैँले हटाउन थालेको अध्यक्ष दानबहादुर गुरुङले जानकारी दिए । उनले राजमार्ग क्षेत्रलाई कुरुप बनाउने गरी राखिएका प्रचार सामग्री सबै हटाइने र व्यवस्थित गरिने बताए ।
“गाउँपालिकालाई कर तिरेर व्यवस्थितरूपमा राजमार्गबाट १५ मिटर छाडेर होर्डिङबोर्ड राख्नुपर्छ, अन्यथा सबै खाली गर्छौँ”, उनले भने । धादिङको सिमाना मौवाखोला र भरतपुर महानगरपालिकाको सिमाना रिद्धीखोलासम्मको राजमार्ग क्षेत्र गाउँपालिकाको पर्छ । यस क्षेत्रमा झण्डै २४ कम्पनीका एक सय बढी होर्डिङबोर्ड रहेको गाउँपालिकाले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, असोज ११, २०७९ १०:५१