हिन्दू नेपालीहरूले मनाउने चाड बडादसैं सोमबारदेखि सुरु भएको छ । सोमबार काठमाडौंको वसन्तपुरस्थित दसैंघर तथा घर–घरमा जमरा राखेर घटस्थापना गरिएको छ । घटनास्थापनालाई नवरात्रको पहिलो दिन पनि भनिन्छ । दसैंसम्म विभिन्न देवीहरूको पूजाआजा गर्ने चलन छ ।
यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ । वडादसैंको पहिलो दिन घरका पूजा कोठा र दसैंघरमा विधिपूर्वक दियो, कलश एवं गणेश स्थापनासहित घटस्थापना गरिन्छ ।दुर्गा देवीका तीनवटा रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा आराधना गरिन्छ । महाकाली शक्तिको प्रतीक, महालक्ष्मी धनधान्य, ऐश्वर्यको प्रतीक र महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकको रुपमा पूजा आराधना गर्ने वैदिककालदेखिको परम्परा छ ।
दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकको रुपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तवीजलगायतका राक्षसलाई वध गर्न लिएका नौवटा रुपको दुर्गा पक्षका अवसरमा विशेष पूजा, आजा र आराधना गर्ने गरिन्छ । यो आराधनाले वर्षभर गलत प्रवृत्तिविरुद्ध लड्ने शक्ति प्राप्त हुने विश्वास गरिन्छ ।एकातिर सोमबारदेखि दसैंको रौनक सुरु भएको छ भने अर्कोतिर बजारमा महँगी पनि उकालो लागिरहेको छ । उपभोक्ता महँगीको चर्को मारमा छन् । बजारमा हरेक वस्तुको मूल्य उच्च छ ।
यसरी हेर्दा दसैं आममानिसका लागि महँगो बन्ने पक्का छ । सामान्यतया चाडबाड भनेपछि मनोवैज्ञानिक रूपमा पनि मानिसले सरसामन किन्नका लागि आफूलाई तयार बनाउँछ । आधारभूत आवश्यकताका सामान मात्र किन्दा पनि ढाड सेकिने अवस्था छ ।नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको तथ्यांकमा चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिनामा मुद्रास्फीति (मूल्यवृद्धि) ८.२६ प्रतिशत पुगेको उल्लेख गरिएको छ ।
अघिल्लो वर्षको सोही महिनामा यस्तो मूल्यवृद्धि ४.३५ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति ७.११ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ९.१८ प्रतिशत रहेको छ । २०७८ साउन महिनाको तुलनामा २०७९ साउन महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घिउ तथा तेल, फलफूल, रेस्टुरेण्ट तथा होटल, मदिराजन्य पेयपदार्थ र दुग्धपदार्थ तथा अण्डा उपसमूहको मूल्यवृद्धि क्रमशः १९.५८ प्रतिशत, १८.७९ प्रतिशत, ११.८४ प्रतिशत, १०.२४ प्रतिशत र १०.१९ प्रतिशत रहेको छ ।
साथै, गैरखाद्य तथा सेवा समूहअन्तर्गत यातायात, स्वास्थ्य, फर्निसिङ तथा घरायसी उपकरणहरु, शिक्षा र घरायसी उपयोगका वस्तुहरु उपसमूहको मूल्यवृद्धि क्रमशः २३.८८ प्रतिशत, १०.५४ प्रतिशत, ९.०४ प्रतिशत, ८.११ प्रतिशत र ७.८६ प्रतिशत रहेको छ ।समीक्षा महिनामा काठमाडौं उपत्यकामा ७.३९ प्रतिशत, तराईमा ८.७२ प्रतिशत, पहाडमा ८.६४ प्रतिशत र हिमालमा ६.६४ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७८ साउन महिनामा यी क्षेत्रहरुमा क्रमशः ३.७० प्रतिशत, ४.११ प्रतिशत, ५.६३ प्रतिशत र ३.५८ प्रतिशत मुद्रास्फीति रहेको थियो ।
आर्थिक वर्ष २०७९/८० को पहिलो महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति १२.५८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.२५ प्रतिशत रहेको थियो । समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः १०.६२ प्रतिशत, १४.६८ प्रतिशत र ६.८७ प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्यवृद्धि १९.३६ प्रतिशत रहेको छ ।
तथ्यांकले भन्छ कि मूल्यवृद्धि दिनानुदिन उकालो लागिरहेको छ । चाडबाडको मौका छोपेर मूल्यवृद्धि झन् बढाउने र उपभोक्ता ठगिने क्रम बढ्ने जोखिम छ । राज्य र सम्बन्धित निकायले यसमा बेलैमा ध्यान दिनुपर्छ । चाडबाडका बेला हुने कालोबजारी नियन्त्रणतर्फ राज्य गम्भीर हुनैपर्छ ।
प्रकाशित मिति: मंगलबार, असोज ११, २०७९ १०:५७