काठमाडौं - अमेरिकाको सहायक विदेशमन्त्री नेपाल भ्रमणमा आउने भएकी छन् ।अमेरिकी विदेश मन्त्रालयको विश्वव्यापी सार्वजनिक मामिला हेर्ने कार्यवाहक सहायक विदेशमन्त्री एलिजावेथ केनेडी ट्रुडो नेपाल भ्रमणमा आउने भएकी हुन् ।
ट्रुडो नेपालसँगै यूएई, उज्बेकिस्तान र किर्गिस्तानको १२ दिने भ्रमणका लागि बुधबार काठमाडौं आइपुग्ने भएकी हुन् । अमेरिकी विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार ट्रुडोले नेपालमा दुष्प्रचारविरुद्ध विभिन्न कार्यक्रममा सहभागी हुनेछिन् ।
अमेरिकाले अफगानिस्तानमा सामाजिक समता, मिडिया फ्रिडम र जलवायुका विषयमा गरेको सहयोगलाई चीन र रुसले दुष्प्रचार फैलाएको आरोप लगाएको छ ।
नेपाल भ्रमणका क्रममा सहायक विदेशमन्त्री ट्रुडोले भ्रमपूर्ण समाचार र लोकतन्त्रमा सञ्चार माध्यमको भूमिकाबारे ‘राउन्ड टेबल’ अन्तरक्रिया गर्ने बताइएको छ ।
यसका साथै अल्पसंख्यक समूहका अभियन्ता र सञ्चार क्षेत्रका व्यक्तिसँग भेट्ने कार्यक्रम रहेको छ । नेपालपछि ट्रुडो यूएई, उज्बेकिस्तान र किर्गिस्तानको भ्रमणमा जाने बताइएकाे छ।
प्रकाशित मिति: मंगलबार, असोज ११, २०७९ १३:००