काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको राजीनामा स्वीकृत भएको छ ।
असोज १० गते बसेको एन्फा कार्यसमिति बैठकले अल्मुताइरीले दिएको राजीनामा स्वीकृत गरेको हो ।
केही साताअघि एन्फामा नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षकबाट अल्मुताइरीले राजीनामा बुझाएका थिए ।
मंगलबार बंगलादेश विरुद्ध नेपालले मैत्रीपूर्ण खेल खेल्नुअघि एन्फाको कार्यसमिति बैठकले राजीनामा स्वीकृत गरेको एन्फाका एक पदाधिकारीले जानकारी दिए ।
बंगलादेशसँगको खेलका लागि एन्फाले प्रदीप हुमागाईँलाई कार्यवाहक मुख्य प्रशिक्षक नियुक्त गरेको थियो । मंगलबार नेपालले उक्त खेल ३-१ ले जितेसँगै हुमागाईंको कार्यकाल पनि सकिएको छ ।
प्रकाशित मिति: बुधबार, असोज १२, २०७९ १८:५५