काठमाडाैं- नेकपा एमालेको सचिवालय बैठकले आगामी चुनावमा उम्मेदवार चयनको अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ ।
बिहीबार मध्यरातसम्म ओलीको निवास बालकोटमा चलेको बैठकले सम्बन्धित कमिटी र नेताहरुसँग आवश्यक परामर्श लिएर उम्मेदवार चयन गर्ने निर्णय गरेको एक पदाधिकारीले बताएका हुन् ।
‘उम्मेदवारहरुको मोटामोटी प्रस्ताव आएको छ, त्यसमाथि ब्यापक छलफल भयो’, ती पदाधिकारीले भने । उनका अनुसार, सिफारिस भएर आएका नेताहरुबारे व्यक्तिगत रुपमै छलफल भएको थियो ।
६ घण्टा बढी चलेको बैठकले उम्मेदवारबारे ठोस निर्णय भने गरेन । ‘छलफल भयो, तर निर्णय भएको छैन’, सचिव पद्मा अर्यालले भनिन् । थप छलफल गरेर उम्मेदवार टुंग्याइने उनले बताइन् ।
अन्य दलसँग तालमेलको कुरा टुंगिन बाँकी रहेकाले पनि थप छलफल गरेर मात्रै उम्मेदवारबारे निर्णय लिन नेताहरु सहमत भएका छन् ।
प्रकाशित मिति: शुक्रबार, असोज १४, २०७९ १०:४६