काठमाडौं - पूर्वराजा ज्ञानेन्द्र शाहले देशका युवाहरु विदेश पलायन बनाएर बाहिरियाहरुलाई भित्र्याउने प्रपञ्च रचिएकाे बताएका छन् । हिन्दुहरुकाे चाड दशैंको अवसरमा भिडियो सन्देश मार्फत शाहले सो कुरा बताएका हुन् ।
नागरिकता विधेयकतर्फ संकेत गर्दै बाहिरियाहरुलाई भित्र्याएर वास्तविक नेपालीलाई धरापमा पार्ने प्रपञ्च गरिएको दाबी गरेका छन् । एकातिर युवाहरु विदेश पलायन हुने र अर्कोतिर बाहिरियाहरुलाई भित्र्याउने प्रपञ्च रचिएको भन्दै उनले नेपालको धर्म, संस्कृति र सभ्यतामाथि घातक प्रहार भएको बताएका छन् ।
राष्ट्र र राष्ट्रियता सर्वाधिक संकटापन्न स्थितिमा रहेको बताउँदै उनले अहिले बलियो मियो आवश्यक रहेको पनि बताएका छन् । ‘बलियो मियोमा आबद्ध भएर राम्रो र दरिलो नेपाल बनाउन हामीमा दिव्य चेतना आउन जरुरी छ । नेपाललाई फेरि महान बनाउनु परेको छ’, उनले भनेका छन् ।
‘अर्कातिर बाहिरियाहरुलाई भित्र्याउने र वास्तविक नेपालीलाई धरापमा पार्दै जाने प्रपञ्चप्रति चासो र चिन्ता बढेको छ’ उनले भनेका छन्, ‘विश्वका दुई ठूला मुलुकका बीचमा अवस्थित हाम्रो देशको धर्म, संस्कृति, सभ्यतामाथि घातक प्रहार हुँदै आएको छ ।’
अहिले देशलाई दाउँमा लग्ने अवस्था बनेको भन्दै उनले देशले कहिल्यै पनि हार्न नहुने बताएका छन् । उनले भनेका छन्, ‘हाम्रो राष्ट्रियता र इतिहास सर्वाधिक संकटापन्न स्थितिमा छ । हाम्रा मौलिका धार्मिक, सांस्कृतिक मान्यताहरु विस्थापित गर्ने क्रमलाई तीव्रता दिइएको छ । परराष्ट्र नीति असन्तुलित भइदिंदा राष्ट्रहित र सुरक्षा संकटग्रस्त बन्दै गएको छ । व्याप्त भ्रष्टाचारले समाज र व्यवस्थालाई पथभ्रष्ट तुल्याएको छ ।
सर्वसाधारणको दैनिक जीवनलाई सकसपूर्ण बनाएको छ । विद्यमान संविधान र व्यवस्थाको रक्षा गर्न खोज्दा देशलाई दाउमा लग्ने अवस्था बनेको छ । पहिले पनि हामीले भनिसकेका छौं हाम्रो कुनै कार्यले देश कहिल्यै पनि हार्न हुँदैन ।’
राष्ट्र, प्रजातन्त्र, मौलिक मान्यताहरु र नेपाली एकता रक्षाका लागि एकजुट हुँदै अभिभावकीय रक्षा व्यवस्थाको रक्षामा समर्पित रहने देशभक्ति नेपालीको चाहना परिपूर्ति गर्न नवदुर्गा भवानीले प्रेरणा प्रदान गरुन् भन्ने कामना पनि उनले गरेका छन् ।
प्रकाशित मिति: शुक्रबार, असोज १४, २०७९ १०:२६