सहर तथा गाउँमा दसैंको माहोल तातिएको छ । नेपालबाहिर रहेकाहरु दसैंका लागि स्वदेश फर्किएका छन् भने सहरमा हुनेहरु पनि दसैं मनाउन गाउँ फर्किन थालेका छन् । खासगरी काठमाडौं उपत्यकालगायत देशका प्रमुख सहरमा रोजगारी, अध्ययन र विभिन्न पेसा व्यवसाय गरिरहेकाहरु गाउँ फर्किने क्रम जारी छ ।
बडादसैं सुरु भएसँगै काठमाडौं उपत्यकाबाट बाहिरिनेको संख्या बढेको छ । घटस्थापनादेखि बिहीबारसम्म झण्डै चार लाखले उपत्यका छाडेका छन् । घटस्थापनाको दिन सोमबार र अर्को दिन मंगलबार करिब एक/एक लाखले उपत्यका छाडेका थिए । बुधबार र बिहीबार पनि एक/एक लाखभन्दा धेरै यात्रु उपत्यका बाहिरिएका छन् । उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार निजी तथा सार्वजनिक यातायातका सवारीसाधनबाट उक्त संख्यामा यात्रुहरू बाहिरिएका हुन् । यसमा हवाईमार्गबाट यात्रा गर्नेहरुको संख्या जोडिएको छैन ।
ट्राफिक प्रहरीले उपत्यकाका चारवटै नाकामा बाहिरिने यात्रुको रेडर्क राख्ने गर्छ । चाबहिल, जगाती, बल्खु, थानकोटलगायत नाकाबाट निजी तथा सार्वजनिक यातायातमा बाहिरिनेको संख्या संकलन गरिन्छ । सामान्य अवस्थामा दैनिक १५–२० हजारले उपत्यका छाड्ने भए पनि दसैंमा ह्वात्तै बढेको ट्राफिक प्रहरीले जनाएको छ । यसपटक दसैंमा झण्डै २० लाखले उपत्यका छाड्ने आकलन गरिएको छ ।
चाडबाड नजिकिएसँगै बजारमा एकातिर महँगी बढेको छ भने अर्कोतिर यात्रुबाट तोकेभन्दा बढी भाडा असुल्ने गरेका छन् । दसैं लागेयता मात्र काठमाडौंमा १०० भन्दा धेरै जना पक्राउ गरिसकेका छन् । तोकिएकोभन्दा बढी भाडा लिने, अनावश्यक हैरानी दिने, टिकटमा तोकिएको सिट नदिनेजस्ता गतिविधि गर्नेलाई प्रहरीले पक्राउ गर्ने गरेको छ । जसको निगरानीका लागि सादा पोसाकमा प्रहरी खटिएका छन् । दसैंको बेला हुनसक्ने सम्भावित अवाञ्छित गतिविधि, दुर्घटना, चोरी, डकैती रोक्न प्रहरी परिचालन गरिएको छ ।
दसैंको बेला घर जाने यात्रुले सिट नपाउने समस्या नयाँ होइन । बढी भाडा असुल्ने पनि समस्या पनि दोहोरिरहन्छ । यतिमात्र होइन चाडबाडकै बेला सवारी दुर्घटना पनि बढ्ने गरेका छन् । बुधबार मात्र सल्यानमा भएको सवारी दुर्घटनामा ८ जनाको मृत्यु भयो । बिहीबार पाल्पामा भएको दुर्घटनामा चार जनाको मृत्यु भयो ।
यी जोखिमलाई रोक्न सवारीधनी, सवारी चालक, यात्रु सबै जिम्मेवार बन्नुपर्छ । लापरवाहीलाई रोक्नुपर्छ । मादक पदार्थ र लागुपदार्थ सेवन गरेका सवारी चलाउन हुँदैन । प्रहरीले चेकजाँचमा कडाइ गरी लापरवाही गरेको भेटिए, मादकपदार्थ र लागुपदार्थ सेवन गरी सवारी चलाउनेलाई कानुनी कारबाही गर्नुपर्छ ।
उपत्यकाबाट बाहिरिने यात्रुको चाप बढ्ने हुँदा सरकारले अग्रिम टिक बुकिङ खोल्ने गरेको छ । यो वर्ष पनि अग्रिम टिक बुकिङ खुला भइसकेको छ । तर, यात्रुलाई टिकट पाउन सकस भइरहेको छ । टिकट काउण्टरबाट रित्तो हात फर्किएका समाचार बाहिर आइरहेका छन् । यसरी टिकट नपाउने यात्रुमाथि यातायात व्यवसायी र विचौलियाले ठगी गर्ने गरेका छन् । यात्रुसँग बढी पैसा असुल्दै कालोबजारी हुने गरेका छन् ।
यस्तो कार्यबाट दसैं मनाउन घर जाने यात्रुले सास्ती बेहोर्नुपरेको छ । यस्ता क्रियाकलाप रोक्न टिकट कालोबजारी गर्ने कार्यमा संलग्नलाई कडा कारबाही गर्नु आवश्यक छ । यसतर्फ सरोकारवाला निकायको तत्काल ध्यान जाओस् ।
प्रकाशित मिति: शुक्रबार, असोज १४, २०७९ १२:४५