काठमाडौं- नेकपा एमालेले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभामा अधिकांश स्थानमा उम्मेदवार टुंगो लगाएको छ ।
बिहीबार राति अबेरसम्म बसेको सचिवालय बैठकले १३५ निर्वाचन क्षेत्रका नेकपा एमालेकाउम्मेदवार टुंगो लगाएको हो ।
‘करिव १३५ स्थानमा टुंगो लगाएका छौं,’ एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भने, ‘बाँकी अध्यक्षले परामर्श गरेर टुंग्याउनुहुन्छ ।’
बैठकले आगामी चुनावमा उम्मेदवार चयनको अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिएका छन् । मधेस प्रदेश, रुपन्देही, काठमाडौं, चितवन लगायतका जिल्लामा उम्मेदवार टुंग्याउन समस्या भएको स्राेतले जनाएकाे छ ।
झापामा भने एमालेले सबै उम्मेदवार टुंगो लगाउन सकेकाे छैन । राप्रपासँग सम्भावित तालमेलका लागि क्षेत्र नम्बर ३ खाली राखिएको छ । पोखरेलले टुंगो लगाउन नसकिएको क्षेत्रमा ‘थप परामर्श गरिने’ बताएका छन् । एकल सिफारिस भएका अधिकांश क्षेत्र टुंगिएका छन् । तर, एकल सिफारिस भएको झापा १ मा नै रविन कोइरालाको नामलाई अन्तिम रुप दिइएको छैन ।
एमालेले समानुपातिक उम्मेदवारको नामावलीमा केही संशोधनसहित बन्दसूची शनिबार निर्वाचन आयोगमा बुझाउने निर्णय गरेको छ ।
प्रकाशित मिति: शुक्रबार, असोज १४, २०७९ १४:३५