कैलाली– कैलालीका किसानलाई दशैँ मनाउनेभन्दा पाकेको धान खेतीको चिन्ता बढेको छ । जल तथा मौसम विज्ञान विभागको मौसमसम्बन्धी विशेष बुलेटिनअनुसार वर्षा हुने भएकाले सतर्कता रहन भन्दै जिल्ला प्रशासन कार्यालय कैलालीले सूचना जारी गरेपछि यहाँका किसान पाकेको धान कसरी जोगाउने भनी चिन्तामा छन् । पाकेर काट्ने अवस्थामा पुगेको धान भारी वर्षा भएमा नोक्सान हुन सक्ने पीरले सताएको जानकी गाउँपालिकाका किसान रामसुन्दर चौधरीले बताए। “गत वर्ष चार बिघा खेतमा रहेको धान बाढीमा मिसियो, यस वर्ष पनि धान पाकेको छ । १० कट्ठा जमिनमा रहेको धान काटिसकेका छौँ, बाँकी काट्न बाँकी छ”, रामसुन्दरले भन्नुभयो, “वर्षभरिको मेहनत बारीमा छ, कसरी दशैँ मनाउनु ? अब वर्षा भएमा पाकेको धान नोक्सान हुनेछ ।”
मङ्गलबारदेखि भारी वर्षाको सम्भावना रहेको भन्दै जिल्ला प्रशासन कार्यालय कैलालीले सतर्कता अपनाउन आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभागको मौसमसम्बन्धी विशेष बुलेटिनअनुसार १८ गतेदेखि दशैँ अवधिभर सामान्यभन्दा बढी पानी पर्ने पूर्वानुमान गरिएकाले सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको हो ।
प्रशासनको सूचनापछि धान काट्न सुरु गरेका जानकीकै किसान रमेश चौधरीले धान काट्न रोकेको छ । “धान काट्न त रोकियो, तर खल्ला खेत हो । वर्षा भएमा जलमग्न हुन्छ”, उनले भने, “पाकेको धान खेतमै सड्ला कि भन्ने चिन्ता बढेको छ । पानी परेपछि एक सातासम्म खेत सुक्न समय लाग्छ । धान पाकेर झर्लाजस्तो भइसकेको छ ।”
यतिखेर खेतीपाती गर्ने किसान दशैँ मनाउनेभन्दा पनि खेतीपातीमा ध्यान गएको बताउँछन् ।वर्षाका कारण भूक्षयलगायतका विपद्बाट मानवीय तथा आर्थिक क्षति हुनसक्ने पूर्वानुमान रहेकाले समयमै प्रतिकार्यका लागि पूर्वतयारी गरी खोज, उद्धार तथा राहतका लागि सचेत र तयारी अवस्थामा रहन भनी गृहमन्त्रालय विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाबाट पत्राचार भएको हुँदा सतर्क रहन भन्दै जिल्ला प्रशासन कैलालीले सूचना जारी गरेको छ ।
गत वर्ष समयमै सूचना नपाएर नोक्सानी ब्यहोरेका किसान यस वर्ष भने सूचना बस्तीस्तरसम्म पुगाउन थालेका छन् । कैलालीमा सूचना संयन्त्र निर्माण गरिएको छ । यसका साथै स्थानीय तहमा सञ्चालनमा रहेका स्थानीय आपत्कालीन कार्यसञ्चालन केन्द्रले किसानका मोबाइलमा म्यासेज, सामाजिक सञ्जालमा सूचना, बडघरलाई टेलिफोन गरेर सूचना समयमै पुगाउने गरेका छन् । यसरी समयमै सूचना गर्दा विपद्बाट हुनसक्ने क्षति कम गर्न सहयोग पुग्ने गरेको टीकापुर नगरपालिकाका विपद् व्यवस्थापन शाखा प्रमुख निर्मला चौधरी बताउछन्। “पछिल्लो समय सूचना सुनेर, हेरेर काम गर्ने बानी विकास हुँदैछ”, उनले भने, “यसले विपद्को पूर्वतयारी र हुने क्षति कम गर्न सहयोग पुग्छ ।”
प्रकाशित मिति: मंगलबार, असोज १८, २०७९ १३:०४