काठमाडौं -भक्तपुरमा आज मंगलबार खम्ये (राँगो) जात्रा हुँदैछ । प्रत्येक वर्ष दसैंको महानवमीको साँझ यहाँ खम्ये दौडाएर खम्ये जात्रा गरिन्छ ।
भक्तपुरमा दसैंको क्रममा हुने विभिन्न जात्राहरुमध्येको एउटा ठूलो जात्रा खम्ये जात्रा हो । प्रत्येक वर्ष दसैँको महानवमीका दिन यहाँ निख्खर कालो ठूलो राँगोलाई नगरभरि दौडाएर खम्ये जात्रा गरिन्छ । यसलाई स्थानीहरु नेपाल भाषामा खम्ये जात्रा भन्दछन् ।
प्रत्येक वर्ष दसैंमा राष्टपति सवारी हुने भक्तपुरको प्रसिद्ध नवदुर्गा द्योछें ९देवता घर०मा राखिराखेको राँगोलाई साँझ दौडाएर जात्रा सुरु हुन्छ । दौडाउनु अघि राँगालाई रक्सी खुवाएर मातन लगाइन्छ । राँगोलाई देवता घरबाट दौडाउन सुरु गरी नगरभरि परिक्रमा गराइन्छ ।
केही हुलले खम्येलाई दौडाएर जात्रा हुन्छ । जात्राको दिन राँगा दौडाउने भक्तपुर नगरभरिका सडकपेटीहरुमा जात्रा हेर्ने भक्तालुहरुको हुल बाटोभरि लाग्छ ।
भक्तपुर नगरपालिका(९ गछेंस्थित द्योछेंमा राखिएको खम्येलाई भक्तपुर नगरपालिका-८ ब्रम्हायणी मन्दिरमा पुयाएपछि जात्रा अन्त हुन्छ ।
विजया दशमीका लागि आवश्यक महिषासुरको प्रतीक मानिने खम्येलाई महानवमीको राति त्यहाँ बली दिइन्छ । नवमीको राति ब्रम्हायणीमा राँगाको वध गरेपछि भोलिपल्ट विजया दशमीका दिन त्यहाँ ठूलो मेला लाग्ने गर्दछ ।
मेला भर्न दसौं हजार श्रद्धालु ब्रम्हायणी पुग्छन् । दशमीमा मेला भर्न ब्रम्हायणीमा भक्तपुरसहित काठमाडौं, ललितपुर,काभ्रेपलान्चोकलगायत छिमेकी जिल्लावासी त्यहाँ पुग्छन् ।
राँगाको मासु जात्रामा विभिन्न जिम्मेवारी वहन गर्ने कसाइदेखि नवदुर्गाको मखुन्डो बनाउने चित्रकारसम्म सबैलाई बाँडिन्छ । यसअघी राँगोलाई नवमीसम्म द्योछेंमै पालेर राखिने गर्दछ । प्रत्येक वर्ष द्योछेंमा भित्याएपछि नवमीसम्म द्योछेंमा पाल्ने परम्परा चलिआएको छ ।
राँगोलाई प्रत्येक वर्ष घण्टाकर्ण चतुर्दशीदेखि नागपञ्चमीको वीचमा देवता घर भित्राइन्छ । भित्राइएको राँगो व्यक्तिले पैसा हालिदिएको हुन्छ । एक लाख भन्दा वढी पर्ने राँगो किनेर हालिदिन वर्षौ लामो कुर्नुपर्ने हुन्छ ।
चढाउन चाहनेले क्रमबद्ध रुपमा राँगो चढाउन सक्ने व्यवस्था नवदुर्गा मन्दिरमा मिलाइएको छ । भगवानलाई चढाएपछि पुण्य पाइने भएकाले भाकल गरि भक्तालुले पैसा तिरेर राँगो चढाइदिने चलन छ ।
वर्षेनी यसैगरी श्रद्धालु भक्तजनले खम्ये जात्राका लागि राँगो दिने गरेका छन् । इतिहासविद् डा.वीरेन्द्रप्रसाद कायस्थ खम्ये जात्रा भक्तपुरको दशैंमा हुने विभिन्न जात्रामध्ये आकर्षक जात्रा भएको बताउँछन् ।
जात्रा हेर्न त्यो दिन नगरभरि भीड हुने उनको भनाइ छ । दसैंको क्रममा सबैभन्दा ठूलो जात्रा भने विजया दशमीको दिन ब्रम्हायणीमा लाग्ने जात्रा हो । जुन हेर्न लाखौं मानिस सहभागी हुन्छन् ।
प्रकाशित मिति: मंगलबार, असोज १८, २०७९ १३:१२