बाँके – अविरल वर्षाका कारण राप्ती नदीमा आएको बाढीले बाँके डुडुवा गाउँपालिका–१ को चौफेरी गाउँका ७५ घरपरिवारलाई स्थान्तरण गरिएको छ ।
वर्षाले नदीमा आएको बाढीले गाउँ पूरै डुबानमा परेर घरभित्रसमेत पानी पसेपछि गाउँ नजिकै रहेको आश्रयस्थलमा सारिएको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताए ।
उनका अनुसार बाढीले गाउँ नै डुबानमा परेपछि रेडक्रसकर्मी, प्रहरीसहितको टोलीले स्थानीयवासीलाई उद्धार गरी आश्रयस्थलमा राखेको हो ।
अधिकृत ज्ञवालीले भने,‘चौफेरी गाउँका दर्जनौँ घरमा पूर्ण क्षति भएको प्रारम्भिक जानकारी छ, अझै पनि वर्षा रोकिएको छैन, बाढी घटेपछि मात्रै क्षतिको विवरण सङ्कलन गर्न सकिन्छ, अहिले पहिलो प्राथमिकता भनेको मानिसलाई सुरक्षित राख्ने हो ।’
बाँकेका लल्लो तटीय क्षेत्रका करिब तीन सय घर डुबानमा परेका छन् भने दर्जनौँ घरमा क्षति पुगेको छ ।
वर्षाले राप्ती नदीमा आएको बाढीले बाँके डुडुवा गाउँपालिका–१ अन्तर्गत पर्ने चौफेरी, कृषि चौफेरी र पाझा गाउँका तीन सय घर डुबानमा परेका छन् ।
बाढीले घरभित्र पानी पसेर राखिएको अन्नपात लत्ताकपडा भिजेर क्षति पुर्याएको स्थानीयवासी गणेश गुप्ताले बताए ।
प्रकाशित मिति: शुक्रबार, असोज २१, २०७९ ११:४२