कञ्चनपुर - भीमदत्त नगरपालिका–९ ब्रह्मदेवमा रहेको सिद्धनाथ मन्दिरमा नवरात्रको अवधिमा २० हजारभन्दा बढी दर्शनार्थीले दर्शन गरेका छन् । नवरात्र, गङ्गा दशहरा, पूर्णागिरि मेलामा सिद्धनाथ मन्दिरमा श्रद्धालु भक्तजनको भीड लाग्दछ ।
नवरात्रमा दैनिक दुई हजारको हाराहारीमा भारतीय तीर्थयात्रीले भगवान् सिद्धनाथको दर्शन गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नारायणसिंह महताले बताए ।
सिद्धनाथ बाबाको दर्शनका लागि पुग्नेमा अधिकांश भारतीय दर्शनार्थी रहेका छन् । ‘गएको दुई वर्ष कोरोना महामारीका कारण मन्दिरमा दर्शनार्थी पुग्न सकेका थिएनन्’, उनले भने, ‘कुनै आम्दानी भएन तर कोरोनाको सङ्क्रमण घटेसँगै भारतीय दर्शनार्थी आउन थालेपछि मन्दिरको आम्दानी पहिलेझै हुन थालेको छ । यस वर्ष मन्दिरको आम्दानी रु ७० लाखदेखि रु ८० लाखसम्म पुग्ने अनुमान गरिएको छ ।’
मन्दिर परिसरमा ठूलो पीपलको रुख छ । त्यसै रुख रहेको क्षेत्रमै प्राचीन सिद्धनाथ बाबाको मन्दिर रहेको छ । मन्दिर रहेकै स्थानमा ब्रह्मदेव बजार रहेको छ । बजारका मुख्य ग्राहक भारतीय हुने गरेका छन् । उक्त बजारमा भारतीय रुपैयाँमै कारोबार हुने गरेको छ ।
प्रकाशित मिति: शनिबार, असोज २२, २०७९ १०:१५