कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–६ बनगाउँस्थित पूर्वपश्चिम महेन्द्र राजमार्गको छेउमा सानो झुपडी छ । झुपडीभित्र फलामका टुक्रा असरल्ल छरिएका छन् ।
कोइला पोल्न प्रयोग गरिने आरन र आरन नजिकै घन र हतौडा छन् । तिनै घन र हतौडासँग खेल्दै गरेका छन् भीमदत्त–६ का ६६ वर्षीय विष्णु लुहार । उनले आरनको काम गर्छन्।
विष्णुले दशकौंदेखि आरन चलाएरै जीविकोपार्जन गर्दै आएका छन् । आरनमा उनलाई काम गर्न भ्याइनभ्याई छ । यही पेसाबाट उनले छोरा(बुहारी, नातिनातिनासहित १० जनाको परिवार पालेका छन् ।
‘आरन चलाएर परिवार पालेको छुँ, छोराछोरी नातिनातिनालाई शिक्षादीक्षा दिन सकिएको छ’, उनले भने, ‘घर खर्च पनि राम्रै चलेको छ ।’ उनले आरनमा काम गर्न थालेको ५४ वर्षभन्दा बढी भइसकेको छ ।
सानै हुँदा बुबासँगै आरनमा खेल्दाखेल्दै काम सिकेका उनले अहिले त्यही सीपको उपयोग गर्दै आफ्नो परिवार सुखका साथ पालिरहेको बताए । विष्णुका बुबा २०२४ मा दार्चुलाको बचालबाट तराई बसाइँ सरेका थिए ।
बचालमा आरन चलाउने उनीहरूले तराई (बनगाउँ) मा पनि त्यही काम थाले । बुबालाई आरनमा सघाउने उनले पहाडमै काम सिकेका थिए । तराईमा बुबासँग काम गर्दा उनी अझ निपुण भए ।
विष्णुले सानै उमेरमा बुबालाई गुमाउँदा परिवार पाल्ने जिम्मेवारी उनकै काँधमा आउको हो । त्यसका लागि उनले पनि आरनलाई नै निरन्तरता दिएको उनी बताउँछन् ।
‘अरू काम गर्नका लागि पढेको थिएन । कि त भारत नै जानु पर्थ्यो । तर म भारत गइनँ’, उनले भने, ‘बुबाको कामलाई नै निरन्तरता दिए । काम गर्दै जाँदा कृषकहरूले पनि काम मन पराए ।’
बुबासँग आरनमा लडिबडी खेल्दै सिकेको सीपले परिवारको घरखर्च जुटाउने स्रोत बन्यो । त्यसैले उनले जीविकोपार्जनका लागि अन्य विकल्प खोज्नु परेन । उनीसँगैका साथीहरू कामका लागि अहिले पनि भारतमा छन् ।
उनले भने, ‘भारतमा गएर मैले पनि १३ दिन काम गरेँ । तर मलाई अर्काको मुलुकमा काम गर्न मन परेन, त्यसैले अहिले पनि आफ्नो सीपको उपयोग गरेर स्वदेशमै मेहनत गरिरहेको छुँ ।’
फलाम पिटेर कमाएको पैसाले नातिनातिनाहरूलाई समेत बोर्डिङ स्कुलमा पढाउन सकेको उनले जानकारी दिए । भोलिका दिनमा आफ्ना सन्ततिले पढेर डाक्टर र इन्जिनियर बनेको हेर्ने विष्णुको चाहना छ ।
‘कहिले दिनमा एकरदुई हजार । कहिले पाँचरछ सय कमाई हुन्छ । कृषकहरूले कामप्रति खुसी भएर पैसा दिएर जान्छन्’, उनले भने । उनले छोराहरूलाई पनि रोजगारीमा लगाएका छन् ।
एक छोराका लागि अटो किनिदिएका छन् भने अर्का छोरालाई खेतीपातीको काममा लगाएका छन् । विष्णुले कृषक वर्गलाई चाहिने कुटो, कोदालो, हँसिया, बञ्चरोलगायत हातहतियार बनाउने गरेका छन् ।
आरनमा कामका लागि महेन्द्रनगर आसपासका क्षेत्रका साथै भारतको बनबासा, टनकपुर, नानकमाताबाट मानिसहरु आउने गरेको उनले बताए । ‘टाढा(टाढाबाट विश्वास गरेर मेरामा काम लिएर आउनुहुन्छ’, उनले भने, ‘आउने ग्राहकलाई खुसी बनाएका कारण ज्याला भन्दा बढी पैसा दिएर जानुहुन्छ ।’
काममा मेहनत गरेका कारण सबैलाई सन्तुष्ट बनाउन सकेको उनको दाबी छ । जनशक्ति नहुँदा एक्लैले चाहे जति काम गर्न नसकेको उनको भनाइ छ । ‘धेरै काम आइरहेको छ । तर एक्लै हुँदा सबैको काम भ्याउन गाह्रो हुन्छ,’ उनले भने, ‘जनशक्ति नहुँदा आफूसँग भएको सीप देखाउन सकिएको छैन ।’
प्रकाशित मिति: आइतबार, असोज २३, २०७९ ११:०९