एजेन्सी - अस्ट्रेलियाको शहर सिड्नीमा बाढीको अत्यधिक खतरा भएकाे बताइएकाे छ । केही दिनको भारी वर्षापछि नदीमा पानीको बहाव बढेपछि अस्ट्रेलियाको आपतकालीन सेवाले सिड्नी र त्यसभन्दा बाहिरका बस्तीका लागि उद्धार आदेश जारी गरेको हाे ।
अधिकारीहरुले पूर्वी राज्य न्यू साउथ वेल्समा २४ घण्टामा २८ वटा समूहलाई बाढीबाट उद्धार गरिएको जानकारी दिएका छन् ।न्यू साउथ वेल्सको आपतकालीन सेवाका आयुक्त कार्लीन योर्कले पत्रकार सम्मेलनमा भने “हाम्रा सडकहरूमा बाढीको अत्यधिक खतरा छ । नदीहरु अझै बढिरहेका छन् र यसका कारण धेरै आकस्मिक सेवाको जरूरी देखिएको छ ।
सिड्नीको उत्तरपश्चिमी किनारा र ‘न्यू साउथ वेल्स’का अन्य भागका तल्लो भेगका लागि एक दर्जन भन्दा बढी बाढी मुक्त गर्ने आदेश जारी गरिएको आपतकालीन सेवाले जनाएको छ । राज्यका अन्य २० वटा जोखिममा रहेका क्षेत्रहरूमा पनि चेतावनी जारी गरिएको छ । उक्त क्षेत्रमा वर्षाका कारण नदीहरू बढेका र डुवानको समस्या पनि देखिएकोले बाढीको जोखिम क्षेत्रका मानिसहरूलाई सुरक्षितस्थलतर्फ जान भनिएको छ ।
राज्यको मौसम विज्ञान विभागका अनुसार आइतबार वर्षामा कमी आएको छ तर अझै पनि न्यू साउथ वेल्स तटको भित्री र मध्य भागका नदीहरूमा बाढी कमी आएको छैन । सन् १८५८ मा रेकर्ड राख्न सुरु भएयता सिड्नी शहरमा सबैभन्दा बढी वर्षा भएको अष्ट्रेलियाली मौसमसम्बन्धी निकायहरूले बताएका छन् ।
गत मार्चमा अस्ट्रेलियाको पूर्वी तट क्विन्सल्याण्ड र न्यू साउथ वेल्समा आएको भीषण आँधीबेहरीपछि आएको बाढीका कारण २० जनाभन्दा बढीको मृत्यु भएको थियो ।गत जुलाईमा आएको बाढीका कारण सिड्नीका दशौँ हजार बासिन्दालाई अन्यत्र जान आदेश दिइएको थियो ।
प्रकाशित मिति: सोमबार, असोज २४, २०७९ ०८:५९