काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाको उम्मेदवारी विरुद्ध परेको उजुरी खारेज गरिदिएको छ । मतदाता परिचयपत्रमा भएको जन्ममितिमा प्रिन्ट् गल्ती भएकोले मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट उजुरी खारेज गरिदिएको हाे ।
मतदाता नामावलीमा र नागरिकतामा देउवाको जन्म मिति फरक रहेको भन्दै उजुरी परेको थियो । मतदाता परिचयपत्रमा देउवाको जन्म मिति सामान्य प्रिन्ट गल्ती भएकाे र उजुरी खारेज गरेकाे डडेल्धुराका मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिए ।
देउवाको नागरिकतामा जन्ममिति ३१ जेठ २००३ छ भने मतदाता नामावलीमा भने जन्ममिति ३१ जेठ २००२ लेखिएको छ । जन्ममिति फरक परेको भन्दै देउवाका प्रतिस्पर्धी कर्ण मल्लले सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका थिए ।
मंगलबार देउवाको तर्फबाट उनकी पत्नी कांग्रेस केन्द्रीय सदस्य आरजु देउवाले लिखित जवाफ बुझाएकी थिइन् । त्यसपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले मल्लको उजुरी खारेज गर्दै मतदाता परिचयपत्रमा देउवाका जन्ममिति गलत उल्लेख भएको प्रष्टिकरण दिएको छ ।
उजुरी खारेज भएसँगै देउवाको उम्मेदवारी कायम भएकाे छ ।
प्रकाशित मिति: मंगलबार, असोज २५, २०७९ १७:४५