देशमा ऐतिहासिक परिवर्तन भएपनि नेपाली समाजको मानसिक र भावानात्मक परिवर्तन हुन सकिरहेको छैन । परिवर्तन पछि देश ऐतिहासिक संक्रमण कालमा गुज्रिए पनि परिवर्तनको भावलाई आत्मसाथ गर्न हामी चुकिरहेका छौं । राजनीतिक चेतनाको आधारमा नेपाली जनता संसारकै उत्कृष्ट स्थानमा उभिएको समाचार बने तर व्यवहारतः त्यो देखि रहेको छैन । आज नेपाली महिलाहरु बोक्सीको आरोपमा देशका समग्र बस्तीमा मलमुत्र ख्वाई गाउँबाट निकालिएका छन् । मन्दिर प्रवेश गरेको निहुँमा र अन्तरजातिय विवाह गरेको नाउँमा अजित मिजार जस्ता दलित युवाहरुले अनाहकमै ज्यान फाल्नु परेको छ अर्थात समाजदेखि बहिष्कार हुनु परेको छ भने अर्कातिर हिमाल, पहाड, तराईको उषाकालिन सम्बन्धमा मधेशी, पहाडी र जनजातिको नाउँमा सामाजिक अन्तरसम्बन्ध कमजोर पारिएको छ । नैतिक मुल्य मान्यताको धरातललाई हेर्ने हो भने आजको मानिसले कर्तव्य, इमानदारी र विश्वास गुमाई सामाजिक सद्भाव र मानवीय सम्बेदनामा ह्रास ल्याएको छ । युवाहरुको विशाल पंति परिवार पाल्नको निम्ति अरबका मरुभुमिमा पशु सरहको जीवन जिई रहेका छन् भने बाँकी कैयन् युवाहरु विकृति र विसंगतिको तुवालोमा रुमल्लिएका छन् । राज्य संचालक नेताहरुको पक्ष, प्रतिपक्षको जुहारीले देश अस्थिरताको भुमरीमा फसेको छ । भ्रष्टाचार र नाफाखोरहको मनोबल बढेको छ भने दुर्गम बस्तीहरुमा सिटामोल र भोकमरीको अभावमा कैयन जनताले ज्यान फाल्नु परेको छ । नेपाली समाजको आधुनिक चरित्र भनेको मिहिनेत गर्ने भन्दा गफ गरेर, छलेर, धाक धम्कि दिएर, हुने खानेको जी हजुरी गरेर, लडाएर, फुटाएर, तर्साएर खाने संस्कृतिले जरा गाडेको छ । धार्मिक र पार्टीगत आस्था लोकतन्त्रमा फरक फरक हुन स्वभाविक भएपनि हरेक चिजलाई पार्टीगत आँखाबाट हेरेर आज परिवार, गाँउ, टोल र समाज विभिन्न कित्तामा विभाजित छ । सामाजिक अन्तरसम्बन्ध खलबलिएका छन्, पार्टीगत सत्ता स्वार्थले सामाजिक भावनालाई जोड्नुको सट्टा फुटाएको छ । लोकतन्त्रको आफ्नै सौन्दर्य होला तर यहाँ धनि, गरिब, जात, भात, सुगम, दर्गम, हिमाल, पहाड, तराई र मधेशको नाममा मानवीय संवेदना अलग गर्न खोजिएको छ । व्यक्ति र समाज समृद्धहुनलाई आफैबाट शुरु नगरी एक्कासी केन्द्रबाटै भित्र्याउने मनोरोगले नेपाली परिवेश आक्रान्त छ । सत्ता बदलिए, व्यक्ति बदलिए, पार्टी बदलिए र परिस्थिति बदलियो तर स्वभाव बदलिएन, संस्कार बदलिएन, नीति र कार्यक्रम बदलिएनन् । यी तिता यथार्थहरु नेपाली समाजका विशेषता र मानवीय चेतनालाई गिज्याउने अस्त्र बनेका छन् । विकास र समृद्धिका कुरा आज हामी हरेक नेपालीले प्रत्येक चिया पसल, साथीभाइको जमघट, सार्वजनिक स्थल, धारा, मेला, पार्टी पौवामा गरेकै छाँै वा नेता र पार्टीहरुलाई दोषको भारी बोकाई गालीको वर्षा वर्षाइ रहेका छौं तर हरेक व्यक्तिले केन्द्र मात्र नताकि आपनो घर, परिवार, टोल, छिमेक, गाउँ र समाजलाई जोड्न सक्छाँै भन्ने चेतना हामी कसैमा खुलेको छैन् । देशको भाग्य र भविष्य निर्माण गर्ने संकल्प बोकी त्याग, तपस्या, जेलनेल, भुमिगत बसाईका कठोरतम संघर्षका आँधीवेरी पार गर्दै सत्ताको सिंढिमा उक्लिएका नेताजीहरुले देश असफल हुनुको ठुलो दोष अनिवार्य लिनु पर्छ तर त्यसका केहि अंश हरेक सचेत हामी नागरीकले पनि लिनु बुद्धिमानी हुने मेरो ठम्याईँ छ । अर्काको जिउमा जुम्रा हिँडेको देख्ने र आफ्नो जिउमा भँैसी हिडेको नदेख्ने प्रचलित उखान हामी सबैमा लागु भएको कुरालाई नकार्न
सकिदैन । यस संगीन मोढमा यस्लाई बदल्न, भत्काउन, निर्माण गर्न तथा मानवता हराउँदै गएको समाजमा नयाँ बुटि बनी जोड्ने जिम्मेवारी अब हामी सामाजिक अभियान्ताहरुको काँधमा आएको छ ।
प्रकाशित मिति: सोमबार, कात्तिक २२, २०७३ ०५:३९