काठमाडौं– माघ महीनाको पहिलो दिन बुधबार विभन्न कार्यक्रमसहित देशभर धमधामका साथ मनाइएको छ । बुधबार बिहान स्नान, जप, तप, ध्यान, साधना गरी घ्यू, चाकु खाएर मकर संक्रान्ति मनाइएको हो ।
सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति अर्थात् माघ १ गते मकर (माघे) संक्रान्तिका नाममा मानिसले सनातनदेखि कूल परम्परामा चलेको चलन अनुसार यो पर्व मनाउँछन् । १ माघदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छ । उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्यदायक मानिन्छ ।
यसैले माघीको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड लागेको थियो । तराईवासीले १ माघलाई नहान अर्थात् नुहाउने पर्वका रूपमा मनाउँछन् । यसैगरी थारु र लिम्बू समुदायले नयाँ वर्षका रूपमा माघी नामबाट यो पर्व मनाउँछन् ।
यसैगरी मगर र छन्त्याल जातिका मानिसले पनि आज नयाँ वर्षका रूपमा माघी पर्व मनाएका छन् । थारु समुदायले वर्षभर विभिन्न कामको नेतृत्व गर्ने गाउँको अगुवालगायत विभिन्न पदको चयन लोकतान्त्रिक विधिबाट १ माघदेखि गर्छन् । यो समुदायमा माघीमै गरिएको सहमति अकाट्य हुने मान्यतासमेत छ । १ माघमा स्नानको विधि भने सबै क्षेत्र एवं जातिका मानिसमा समान रूपमा रहेको पाइन्छ । बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरे सरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।
धर्मसिन्धुमा १ माघमा घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले बताए ।
माघीमा शरीरमा तिलको तेलले मालिस गर्दा दूषित पदार्थ बाहिर निस्कन्छ भन्ने विश्वास छ ।
शरीरका नाडी, स्नायुमण्डल र हड्डीलाई तिलको तेल मालिसबाट सुदृढ र स्वस्थ राख्न सकिने आयुर्वेद शास्त्रीय मान्यता छ । जाडो महीनामा घ्यू, चाकु, तरुल, लड्डु, तिलौरी जस्ता परिकार खाँदा न्यानो हुनुका साथै स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने भएकाले यो पर्वलाई मानव स्वास्थ्यसँग समेत जोडेर हेर्ने गरिन्छ ।