रामपुर– गत असोजको २२ गते रातको करिब ३ बजेको थियो । ठूलो वेगले एक्कासि ड्याङडुङ्ग आवाज सुनेपछि बेगबहादुर पल्ली एक्कासि निद्राबाट ब्यँुझिए । अँधेरी रात निद्राबाट ब्यँुझिएर बाहिर निस्कँदा एक्कासि घर अगाडि ठूलो पहिरो खसेको देख्दा उनलाई कताकता सपनामा रहेजस्तो अनुभूति भयो ।
निस्दी गाउँपालिका–३ क्याङ्रुङस्थित डाँडाथर बस्ने उनले घर नै हल्लाउने गरी घर अगाडिका बारी सखापै पारेर पहिरोसँगै खसेको देखेपछि आफ्नो श्रीमती र छोरा लिएर गुहार माग्दै गाउँ पसे। यस पटकको वर्षाले जीवनभर नमेटिने सङ्कटको अवस्था सिर्जना गरिदियो । अर्कासँग ऋण काँढेर दुःखले बनाएको घर सदाका लागि छाड्नुपर्ने अवस्थाले आफूलाई जीवनभर पीडा थपिदिएको उनले बताए ।
“गाउँ नै सखापै पार्ने गरी ठूलो आवाजमा पहिरो खसेको छ, घर अगाडिका बारीमा लगाइएका कोदो, गेडागुडीसहितको सबै जमिन एकैछिन माटोमा विलीन हुन पुग्यो, घरभित्र पस्न सक्ने अवस्था छैन, अब कहाँ गएर बस्ने हो? ”, उनले भने, “कमाउने आधार केही छैन, बल्लतल्ल दुःखले बनाएको घरको ऋण तिर्न अझसम्म सकेको छैन, त्यही घर पनि पहिरोले गर्दा बस्नै नहुने भयो ।”
पहिराले बेगबहादुरको तीनजनाको परिवार बिचल्लीमा परेको छ । चार वर्षअघि ऋण खोजेर बनाएको पक्की घर पहिराको चपेटामा परेपछि उनको परिवारमा गाँस–बासको समस्या निम्तिएको छ । पालिकाबाट एकवटा सानो त्रिपालबाहेक अन्य राहत अहिलेसम्म केही नपाएको उनी बताउछन् ।
ढुङ्गा माटोबाट निर्मित सो घरमा १२ जनाको परिवार बसोबास गर्दै आएकामा अहिले घर नै छाडेर अन्यत्र बास लिनुपर्दा अप्ठ्यारो परेको छ । छिमेकीको घरमा पनि पर्याप्त बस्ने ठाउँ नहुँदा पीडितलाई थप समस्या निम्तिएको छ । युबहादुरको घरसहित करिब १० रोपनी खेतीयोग्य बारी चर्किएर हिँड्नै नहुने गरी जोखिम बढेको छ । “गाउँमा सोच्दै नसोचेको विपद् आइपरेको छ, रातभर निद्रा लाग्दैन, जतिबेला पनि पहिरो खसेको त्यस दिनको आवाज मात्रै कानमा गुञ्जिरहन्छ, हाललाई ज्यान बचाउन छिमेकीको घरमा बसोबास गरिरहेका छौँ, कतिन्जेलसम्म यसरी बस्ने हो जीवनको कुनै ठेगान छैन”, उनले भने।
दैनिकजसो पहिरो खस्ने गर्दा आसपासका बस्तीमा पहिरो फैलने जोखिम बढेको देखिन्छ । बस्तीलाई सुरक्षित स्थानमा सार्नुपर्ने व्यवस्था मिलाउन स्थानीय सरकारसँग पीडितको माग छ । यही असोज २२ गते बिहान करिब ३ बजेको समयमा अविरल वर्षाले पाल्पाको निस्दी गाउँपालिका–३ स्थित क्याङ्रुङमा रहेको डाँडाथरका बस्ती तलको भागबाट पहिरो खस्दा सिङ्गो गाउँ नै पहिराको जोखिममा परेको छ । तत्कालका लागि यहाँका २८ घरपरिवारलाई बसोबासका लागि वैकल्पिक व्यवस्था मिलाउनुपर्ने देखिएको छ भने गाउँका अन्य आसपासका घरहरुमा पनि जोखिम उत्तिकै छ ।
पहिराबाट करिब तीन सयभन्दा बढी गाउँका स्थानीय प्रत्यक्ष मारमा परेका छन् । पहिरो गएपछि पाँच घरपरिवारलाई दुई दिनसम्म लक्ष्मी माध्यमिक विद्यालयमा स्थानान्तरण गरेर राखिएको थियो भने विद्यालय खुलेपछि असोज २४ गते तीन घरपरिवार छिमेकी तथा आफन्तको घरमा आश्रय लिन पुगेका छन् । बाँकी दुई घरपरिवार अझै पनि विद्यालयको भवनमा नै बसोबास गरिरहेका छन् । यहाँ रहेको एक स्थानीय क्लब भवनको आडैबाट पहिरो खस्दा जोखिममा परेको छ ।
साथै यही असोज २५ गते पहिरो प्रभावित क्षेत्रको निस्दी गाउँपालिकाका उपाध्यक्ष तिरणकुमारी श्रेष्ठ, इलाका प्रशासन कार्यालय रामपुरका प्रमुख भगवानभक्त अर्याल, इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी सहायक निरीक्षक मोहन खत्री क्षेत्री, श्री दी फेमस महिन्द्र दल गणबाट जमदार बुद्धिबहादुर थापा मगर, पत्रकारसहितको टोलीले स्थलगत अवलोकन, निरीक्षण एवम् पहिरो पीडितसँग भेटघाट गरी उनीहरुको अवस्थाबारे जानकारी लिइएको छ ।
पहिरो गएको आसपासको क्षेत्रमा बसोबास गर्न नमिल्ने गरी जोखिम बढेकाले यहाँबाट बस्ती स्थानान्तरण गरेर सुरक्षित स्थानमा पीडितलाई राखिएको अनुगमन समितिका संयोजक तथा पालिका उपाध्यक्ष तिरणकुमारी श्रेष्ठ बताए । उनका अनुसार पालिकाले पीडितलाई घरमा भएका सामान सुरक्षित साथ राख्न त्रिपालको व्यवस्था गरेको छ ।
पहिरो पीडितको उचित व्यवस्थापनका लागि तत्काल पालिकाले नै सुरक्षित स्थानमा राख्ने व्यवस्था मिलाउनुपर्ने र आवश्यक सहयोगका लागि प्रशासन कार्यालयले माथिल्लो निकायमा जानकारी गराउने इलाका प्रशासन कार्यालय रामपुरका प्रमुख भगवानभक्त अर्यालले बताए । “स्थलगत रुपमा अनुगमन गर्दा पहिरो आसपासका घरहरु बढी जोखिममा परेकाले ती बस्तीलाई तत्काल अन्यत्र स्थानान्तरणको व्यवस्था गर्नुपर्ने देखिएको छ”, उहाँले भन्नुभयो, “जोखिम न्यूनीकरण र विपद् व्यवस्थापनमा जिल्ला प्रशासन कार्यालयबाट पनि आवश्यक सहयोग हुनेछ ।”
प्रकाशित मिति: बुधबार, असोज २६, २०७९ १३:२०