मकवानपुर– मकवानपुरमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्लाको भीमफेदी गाउँपालिकामा अरिंगालको टोकाइबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भीमफेदी गाउँपालिका-६ पारीबजार बस्ने ६२ वर्षीय कुष्णबहादुर स्याङ्तान रहेको प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
नायब उपरीक्षक कार्कीका अनुसार बुधबार दिउँसो स्थानीय काभ्रेडाँडामा गोठालो गएका उनलाई अरिंगालले टोकेर सख्त भएका उनको उपचारका क्रममा आज बिहान चितवनको पपुलर अस्पतालमा मृत्यु भएको हो ।
यस्तै भीमफेदी-६ जुरिखेतमा भिरबाट लडेर अर्का एक जनाको मृत्यु भएको छ । स्थानीय ३२ वर्षीया समिता रानामगर बुधबार घरदेखि एक किमी उत्तरतर्फको जंगलमा घाँस काट्न गएको उनको भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक कार्कीले बताए ।
मृतक रानामगरको शव परीक्षणका लागि हेटौंडा अस्पतालमा ल्याइएको छ ।
प्रकाशित मिति: बिहीबार, असोज २७, २०७९ १४:२०