‘सर, म अलि हतारमा छु, छोरीलाई खाना खुवाएर विद्यालय पठाउनुपर्ने हो, पछि गफ गरौँला है ।’ सधैँजसो फुर्सदिला देखिने एक हितैषी मित्रले यस्तो कुरा गरेपछि प्रश्न सोधिहाल्न मन लाग्यो ‘किन ? म्याडम कतै बाहिर जानुभएको छ र ?’ मित्रको उत्तर थियो, ‘होइन यतै छिन् छन त । तर, मिन्स भा’छिन् ।’
साथीको यो उत्तरले एक अजीवको मुस्कान आयो । मूर्खतापूर्ण मुस्कान । दिनैपिच्छे सार्वजनिक कार्यक्रममा छाउपडीको विषयमा बहस हुन्छन् र ती कार्यक्रममा ती साथी पनि नियमित सहभागी हुने गर्छन् । महिनावारी भएका बेला महिलाहरू शारीरिक रूपमा कमजोर हुन्छन्, त्यसैले आरामको जरुरत हुन्छ भन्ने कुरा पनि उनले बुझेका छन् । तर, उनले त्यो आधारमा मेडमलाई फुर्सद दिएका होइनन्, महिनावारी भएका बेला ‘नछुने’ अर्थात् छुन नहुने भएका कारण बाध्यताले फुर्सद दिएका हुन् ।
यस्तो समयमा श्रीमतीलाई फुर्सद दिने उनी एक्ला व्यक्ति भने होइनन् । सामाजिक चेतनाले भरिपूर्ण राजनीतिक दलका नेताहरू, जनप्रतिनिधिहरू, उच्च ओहदाका सरकारी कर्मचारीहरू पनि छन् । नेताहरू मात्रै होइनन् नेतृहरू आफैँ पनि जबरजस्ती गर्छन् टाढिएर बस्नलाई । दिउँसोभरि विद्यालयमा स्वास्थ्य तथा जनसंख्या बिषय पढाउने शिक्षक÷शिक्षिकाले पनि साँझ घर आएर महिनावारीलाई या त ‘श्राप’ को रूपमा हेर्छन् या बरदानका रूपमा ।
सायद मासिक श्राव वा महिनावारी महिलाहरूको नियमित शारीरिक प्रक्रिया हो भनेर बिद्यालयमा स्वास्थ्य तथा जनसंख्या शिक्षा पढाउँदा उनीहरूलाई वाक्वाकी लाग्दो हो । महिनावारी भएको पाँच दिनमा सके गाईको गहुँत, नसके सुनपानी चाखेर मात्रै शुद्ध हुने दिदिबहिनीहरू पनि सार्वजनिक कार्यक्रममा त छाउपडी प्रथा बिरुद्ध जोरबलले कराउँछन्, लैंगिक विज्ञ नै ठान्छन् । यसमा केही समस्या हाम्रा धर्मग्रन्थहरूले थपेका छन् भने केही समस्या हाम्रो दरिद्र मानसिकताले । पौराणिक मान्यताअनुसार देवराज इन्द्रले त्वष्टा ऋषिका पुत्र बृत्रको हत्या गरे पनि ब्रह्महत्याको पाप लाग्ने भयो । त्यो पापबाट बच्नका लागि उक्त पापलाई चार भाग लगाइयो । पहिलो भाग धुँवाको मुस्लोसहितको आगोमा, दोस्रो भाग बर्षा कालको नदीमा र तेस्रो भाग पर्वतमा मिसाइयो । चाँैथो भाग कहाँ राख्ने भन्ने खोजी गर्दा महिलाहरूको मासिक श्राव अर्थात् रजस्वलामा मिसाइयो । ईन्द्रले गरेको पापको प्रायश्चित गर्नका लागि प्रजनन् उमेरका महिलाहरूले प्रत्येक महिना ‘नछुने’ हुनु पर्छ रे ।
रजस्वला भएको समयमा पहिलो दिन चाण्डाल्नी, दोस्रो दिन ब्रह्मधाती र तेस्रो दिन पवित्र धोबिनी समान हुने गर्छन् । चौँथो दिन नुहाई धुवाई गरेपछि मात्र उनलाई शुद्ध मानिन्छ । व्यवहारिक रूपमा उनीहरू चौँथो दिन शुद्ध मानिए पनि पितृ कार्य र देव कार्यका लागि भने सात दिनमा मात्रै शुद्ध हुन्छिन् । रजस्वला नबारे महिलामा बाँझोपन आउने, अर्को जन्ममा कुकुर्नी हुनु पर्ने, कुष्ठरोग लाग्नेजस्ता अफवाहले यो मासिक श्रावलाई समस्यामा पारेको छ ।
त्यसो त सुदूरपश्चिम र कर्णाली प्रदेश क्षेत्रमा महिनावारी भएका बेला छाउ गोठमा बस्नु र छाउ गोठमै निस्सासिएर, सर्पले डसेर, जाडोले कठ्यांग्रिएर वा बिरामी भएर मृत्यु हुने कुरा नौलो होइन । तर, मंसिर १७ गते अछाम साँफेबगर नगरपालिका–३ सिद्धेश्वरमा छाउ गोठमै राति सुतेका बेला एक महिलाको मृत्यु भएपछि सरकारी पक्षका कान ठाडा भएका छन् । यो सक्रियता कति दिनसम्म रहने हो भन्न सकिन्न तर त्यो घटनाको दोषी मान्दै मृतकका जेठाजुलाई प्रहरीले थुन्दा यसमा नयाँ तरंग भने सिर्जना गरेको छ ।
मुलुकी अपराध (संहिता) ऐन, ०७४ को दफा १६८(३) अनुसार महिलाको रजस्वला वा सुत्केरीको अवस्थामा छाउपडीमा राख्न वा त्यस्तै अन्य कुनै किसिमका भेद्भाव, छुवाछुत वा अमानवीय व्यवहार गर्नु वा गराउनु हुँदैन । यदि यस्तो ग¥यो भने तीन महिनासम्म कैद वा तीन हजार रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । तर, व्यवहारमा भने फरक छ ।
हामी अहिले पनि अवोध बालबालिकालाई छाउपडी प्रथाबिरुद्धमा होइन, यो प्रथाको पक्षमा ज्ञान दिइरहेका छौँ । भर्खर ‘क र ख’ चिन्दै गरेका छोराछोरीहरूले महिनैपिच्छे चार दिन, पाँच दिन कसैलाई नछोएर छाउगोठमा वा घरभित्रै पनि एक कुनामा निर्जिव वस्तुझैँ बसेको देख्छन् भने उनीहरूले के सिक्छन् होला । गम्भीर विषय हो यो । कतिपय दिदीबहिनीहरूले आफ्नै नाबालक छोराछोरीहरूबाट गहुँत वा सुनपानी छर्किमाग्छन् अनि ती बालबालिकाहरूले भविष्यमा के सिक्छन् ?
संस्कार समाज र परिवारको उपज हो । बालक कस्तो संस्कारमा हुर्कियो, उसले के सिख्यो, त्यही कुरा अभिव्यक्त गर्ने हो । जब हामी आफूलाई अधिकारकर्मी, अगुवा भन्नेहरू यस्तो मानसिकतामा छौँ भने निश्चित रूपमा हाम्रा बालबालिकाहरूले यही कुरा सिक्नेछन् र यो कुप्रथा सधैँ पुस्तान्तरण भइरहनेछ ।
महिनावारी भएदेखि ६÷७ दिनसम्म ‘छाउकी’, ‘बाइन्डी’, ‘छुती’ भएकी भनेर सम्बोधन गरिन्छ । महिनावारी भएका महिलाका श्रीमान्लाई पनि अशुद्ध मान्ने चलन छ । यदि श्रीमती महिनावारी भएकी छिन् भने श्रीमानले पनि पितृकार्य वा देवकार्यमा सहभागी हुन पाउँदैनन् ।
छाउपडी कुप्रथाका कारण जब कुनै महिलाको ज्यान जान्छ, जब कुनै महिला बलात्कृत हुन्छिन्, जब कुनै महिलामाथि शारीरिक हिंसा हुन्छ, तब चर्को स्वरमा आवाजहरू उठ्ने गरेका हुन्छन् । सञ्चार माध्यममा, अधिकारकर्मी हौँ भन्नेहरूका शब्दमा र नेताहरूका भाषणमा यो छाउपडी प्रथा अन्त्य हुनु पर्छ भन्ने जोरको स्वर आउँछ तर दुर्भाग्य, तिनै अधिकारकर्मी महिलाहरू आफू र आङ्खना परिवारका सदस्यहरूलाई छाउ बार्न बाध्य गराउँछन् ।
तिनै सञ्चारकर्मीहरू, जो दिनभरि छाउपडी प्रथाविरुद्धका समाचारहरू सम्प्रेषण गर्छन्, साँझ घर जाँदा छाउ बार्छन् वा बार्न बाध्य हुन्छन् । तिनै नेताहरू छाउपडी अपराध हो, छाउपडीविरुद्ध कानुन बनाउँछौँ, छाउपडी प्रथाको अन्त्य हुनु पर्छ भनेर भाषण गर्छन्, तर घरमा गएर श्रीमती, छोरी, बुहारीलाई गोठमा सुत्न लगाउँछन् ।
कुन छाउगोठ भत्काउने ?
अहिले अछाममा फेरि छाउगोठ भत्काउन सुरु भएका छन् । जिल्लाभरि यो अभियान जारी छ । अछामको त्यो घटनाले फेरि एकपटक करिब १५÷ १६ वर्ष पुरानो डोटीको अभियानलाई स्मरण गराउँछ । ०६०÷६१ सालतिर डोटीमा करिब ६० छाउगोठहरू भत्काइए । तर, ती गोठहरू भत्काएको तीन महिनामै फेरि पुनर्निर्माण भए । भत्काउँदा अधिकारकर्मीहरूले भत्काए, तर बनाउँदा फेरि तिनै गरिबहरूले पाठो–बाख्रो बेचेर बनाए ।
छाउगोठ भत्काउने विषय एउटा दबाबमूलक अभियान हो, यसले एकखालको तरंग ल्याएको छ । तर, के छाउगोठ भत्काउँदैमा अब महिनावारी भएकी महिला घरभित्रै बस्न पाउँछन् त ? वा उनीहरू आफैँ पनि गोठ छाडेर घरभित्र बस्न सक्ने छन् त ? विषय यसरी सोच्न जरुरी छ । यसअघि सरकारी कार्यालयले नै लामो समयसम्म ‘छाउपडी निवारण परियोजना’ चलायो । धेरै ठाउँमा तामझामसहित छाउपडी गोठमुक्त क्षेत्र घोषणा पनि गरियो । तर, अहिले फेरि छाउगोठमा दिदीबहिनीहरूले ज्यान गुमाउनु परेका समाचारहरू सुन्दा सवालको नाममा आफ्नो खेती चलाउनेहरूको मन कस्तो भयो होला ?
छाउपडी हुँदा जुन मनहरू रोएका छन् उनीहरूका घर भत्काउँदा रोलान् कि नरोलान् । अर्को कुरा, कस्तो छाउगोठ भत्काउनुपर्ने हो ? काठमाडौंमा बसेर योजना बनाउने र निर्देशन गर्नेहरूको बुझाइमा छाउगोठ एउटै प्रकारको छ । तर, जहाँ छाउ बारिन्छ, त्यहाँ चार प्रकारका छाउ गोठहरू छन् अर्थात महिनावारी भएका बेला महिलाहरू बस्ने ठाउँहरू फरक–फरक छन् ।
सामूहिक छाउगोठः गाउँभन्दा अलि टाढा वा गाउँको बीचमा भूइँतले एउटा गोठ बनाएको हुन्छ । उक्त गोठमा गाउँभरका महिनावारी भएका महिलाहरू सुत्छन् । यस्तो गोठमा कुनै बेला त कोचाकोच हुन्छ । महिनावारी भएकी महिलाले आफू सुतेको ठाउँमा चार दिन भएपछि गोबर र रातोमाटोले पोत्नुपर्ने चलन छ । गाउँभरिका महिलाको महिनावारी हुने पालो परिरहने भएका कारण यो सामूहिक गोठ कहिल्यै पनि सुक्न पाउँदैन ।
घरैपिच्छे अलग छाउगोठः प्रत्येक घरधुरीले आङ्खनो घरभन्दा अलि टाढा छुट्टै सानो भूइँतले कोठा बनाएको हुन्छ, जसरी शौचालय बनाइएको हुन्छ । टाढाबाट हेर्दा शौचालयजस्तो लाग्ने उक्त गोठको ढोका होचो हुन्छ, झ्याल हुँदैन, यसलाई छाउ गोठ भन्ने गरिन्छ ।
घरमै छाउगोठः मूलघरको भूइँतलामा एउटा सानो कोठा बनाइएको हुन्छ, त्यसैलाई नै छाउगोठ भन्ने गरिन्छ । यो कोठा होचो हुन्छ, यसमा झ्याल हुँदैन । अध्याँरो र साँघुरो हुन्छ ।
गाईवस्तुसँगै बस्ने गोठः कुनैकुनै गाउँमा गाईवस्तु बाँध्ने गोठकै एक कुनामा महिनावारी भएकी महिलाले सुत्नुपर्ने हुन्छ । त्यसैलाई गोठ भन्ने गरिन्छ ।
अब कुन गोठ भत्काउने ?
भौतिक संरचनाहरू भत्काए मात्रै छाउपडी प्रथा हट्ने भन्ने मानसिकता हो भने त पूरै घरै भत्काउनुपर्ने अवस्था आउन सक्छ । छाउपडी हुँदा जुन मनहरू रोएका छन् उनीहरूका घर भत्काउँदा रोलान् कि नरोलान् ? युगौँदेखि हामीले अभ्यास गरेको सामाजिक संस्कारले महिलाहरूको जीवन जोखिममा पार्दै छ । ‘छाउपडी प्रथा पाप होइन, यो भगवान्को देन हो’ भनेर नारा लाउने अधिकारकर्मी महिलाहरूले पनि ‘छाउपडी प्रथा न पाप हो, न श्राप हो, न भगवान्को देन हो, यो त प्रकृतिको नियम हो’ भन्ने बुझ्न सकेका छैनन् ।
त्यसैले निर्जिव छाउ गोठ भत्काउने कुराले खासै अर्थ राख्दैन, सदरमुकाममै बस्नेहरूले पनि आफ्ना व्यवहारिक क्रियाकलापबाट आना छोराछोरीहरूलाई यस विषयमा ज्ञान दिइरहेका छन् अर्थात् छाउ बार्नु पर्छ भन्ने शिक्षा दिइरहेका छन् । त्यसैले छाउ गोठ भत्काउने होइन, छाउ गोठमा बस्न बाध्य बनाउनेहरू र छाउ गोठमा बस्ने दुवैलाई कारबाही गर्नुपर्छ । धर्मग्रन्थहरूमा भएका प्रावधानहरू पनि हटाउने अभियान थालिनुपर्छ कि ? अनलाइनखबर