धादिङ- राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले वडा तहबाटै राष्ट्रिय परिचयपत्र वितरण अभियान थाल्ने भएको छ । धादिङका सबै नागरिकको राष्ट्रिय परिचयपत्र बनाउन गल्छी गाउँपालिकाका वडाबाट टोली खटाएर अभियान थाल्ने भएको हाे ।
पञ्जीकरण विभागबाटै खटिएका कर्मचारीको टोलीले जिल्लाका सबै वडामा पुगेर नागरिकको राष्ट्रिय परिचयपत्र फाराम भर्ने लक्ष्य लिएको छ ।
आज गल्छी बैरेनीमा जिल्लाका १३ वटै स्थानीय तहका प्रमुखको उपस्थितिमा यस्तो जानकारी दिइएको हो । शुक्रबारदेखि नै आवश्यक जनशक्ति परिचालन गरी क्रमशः जिल्लाका एक सय चार वटै वडामा पुगेर सबै नागरिकको राष्ट्रिय परिचयपत्र बनाउने तयारी थालिएको रहेको निर्देशक कृष्णप्रसाद पौडेलले बताए ।
विभागले अहिलेसम्म ३९ जिल्लामा अभियान पूरा गरेको । तेह्र जिल्लामा अहिले अभियान सञ्चालन भइरहेको छ । छापिएको कार्ड अब चाँडै वितरण गर्ने पनि विभागको लक्ष्य रहेको निर्देशक पौडेलको भनाइ छ ।
अभियान सञ्चालनपछि राष्ट्रिय परिचयपत्रका लागि जिल्ला प्रशासन कार्यालयमा रातभर लाइन बस्नुपर्ने समस्या समाधान हुनेछ । नागरिकता, राहदानी, जग्गा धनीपुर्जा, मतदाता परिचयपत्रलगायतका दुई दर्जन बढी परिचयपत्रको सरकारले एकीकृतरूपमा राष्ट्रिय परिचयपत्र वितरण गर्न थालेको हो ।
हरेक वडामा विभागले आवश्यक उपकरणसहित टोली परिचालन गर्ने र तोकिएको अवधिभित्रै प्रक्रिया पुगेका सबै नागरिकलाई राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने तयारी भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले जानकारी दिनुभयो । स्थानीय जनप्रतिनिधिले पनि अभियानमा पूर्ण साथ दिने प्रतिबद्धता जनाएका छन् ।
सरकारले पहिलो चरणमा राहदानी बनाउनका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेकाले जिल्ला प्रशासनमा भीड लाग्ने गरेको छ । तर आकस्मिकरूपमा परिचयपत्र चाहिनेका लागि सरकारले काठमाडौँमा पनि व्यवस्था गरेको छ । राष्ट्रिय परिचयपत्रमा नागरिकका सम्पूर्ण जैविक तथा वैयक्तिक विवरण सङ्कलन गर्नेछ ।
प्रकाशित मिति: बिहीबार, असोज २७, २०७९ १९:३०