मेलबर्न – नेपाली लेग स्पिनर सन्दीप लामिछाने रहेको मेलबर्न स्टार्सले बिग बास लिग (बीबीएल) क्रिकेटमा नवौं जित निकालेको छ । बुधबार भएको खेलमा पर्थ स्कोर्चसलाई ८ विकेटले पराजित गर्दै मेलबर्नले नवौं जित निकालेको हो ।
पर्थमा घरेलु टोलीले दिएको ८७ रनको लक्ष्य मेलबर्नले १२ ओभरमा मात्र २ विकेट गुमाएर पुरा गर्याे । मेलबर्नको जितमा मार्कुस स्टोनीसले अविजित रहदै ३९ रन बनाए ।
हिल्टन क्याटराइटले १९ रन जोड्दा सेब गोट्जले अविजित १४ रन बनाए । पर्थका मिचेल मार्श र फवाद अहमेदले १ र १ विकेट लिए । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको पर्थले १३ ओभर ५ बलमा अलआउट हुँदै ८६ रन बनाएको थियो ।
मेलबर्नका बलर चम्किएको खेलमा पर्थका जोश इंगलिसले सर्वाधिक ३७ रन बनाए । यस्तै क्यामरुन बेनक्रोङ्खटले १० रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । मेलबर्नका ज्याक्सन कोल्म्यानले ३ तथा सन्दीपले २ विकेट लिए ।
सन्दीपले ३ ओभरमा ७ रन खर्चिएर २ विकेट लिएका हुन् । सन्दीपले १२ औैं ओभरको तेस्रो र चौथो बलमा लगातार २ विकेट लिएका थिए । यस सँगै सन्दीपले यस सिजन ९ खेलमा ११ विकेट हात पार्न सफल भएका छन् । जितसँगै शीर्ष स्थानको मेलबर्न १० खेलमा ९ जितसहित १८ अंक जोडेको छ । पर्थ १० खेलमा ५ जितसहित १० अंक जोडेर लिगको चौंथो स्थानमा रहेको छ ।