काठमाडौं– पश्चिम बागलुङको निसीखोला गाउँपालिका–७ स्थित नरसिंहकोटमा पछिल्लो समय आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ । जिल्लाको दोस्रो व्यापारीक केन्द्र बुर्तिबाङ बजारको शिरमा रहेको नरसिंहकोटमा सडक सञ्जाल र पदमार्गले जोडेपछि दैनिक सयौँ आन्तरिक पर्यटक यहाँ पुग्न थालेका हुन् ।
निसीखोलाकै सबैभन्दा महत्वपूर्ण धार्मिक तथा पर्यटकीयस्थल नरसिंहकोटमा गाउँपालिकाले पूर्वाधार निर्माणसँगै पर्यटकलाई आकर्षण गर्ने संरचना बनाएको छ । स्थानीय सरकार आएपछि यसको मुहार फेरिँदै गएको स्थानीयवासी बताउँछन् । अहिले दैनिक दुई सय पर्यटक यहाँ आउने गरेका छन् । घुमाघाम र रमाइलो गर्नका लागि अति उपयुक्त मानिने नरसिंहकोट पौराणिक हिसाबले पनि महत्वपूर्ण मानिन्छ ।
बाइसे चौबिसे राज्य रहेको बेला राजा शासन गरेको यस ठाउँमा अहिले पर्यटक आकर्षणको केन्द्र बनेको छ । जनप्रतिनिधि आउनु पूर्व आजापूजा मात्र गर्ने यो ठाउँ अहिले आन्तरिक पर्यटक घुम्ने केन्द्रको रुपमा विकास भएको निसीखोला गाउँपालिका–७ का वडाअध्यक्ष दीपक कुँवर बताउछन् ।
गाउँपालिकाले पूर्वाधार निर्माण र प्रचारप्रसारलाई प्राथमिकता दिएपछि आन्तरिक पर्यटक बढ्न थालेको उनको भनाइ छ । अध्यक्ष कुँवरले केही वर्ष अगाडिसम्म सुनसान रहेको नरसिंहकोट पछिल्लो समय आन्तरिक पर्यटकको आगमन बढन थालेपछि चहलपहल पनि बढ्न थालेको बताउछन् ।
“अहिले सडककच्ची छ, कच्ची सकडमा आउँदा पर्यटकलाई समस्या पर्ने गरेको छ, केही वर्षमै यसको स्तरोन्नति गर्ने योजना छ, पदमार्ग पनि व्यवस्थित बनेको छ, खानोपानी र शौचालय पनि निर्माण भइसकेको हुँदा पर्यटकलाई समस्या छैन”,उनले भने,“पछिल्लो समय बिदाको दिन यो ठाउँ बुर्तिबाङ बजारका व्यापारी तथा कर्मचारीको थकाइ मार्ने चौतारी जस्तै बनेको छ ।”
राष्ट्रिय प्राथमिताको योजना साल झण्डीढोरपाटन सडकले जोडिएको नरसिंहकोटमा तराई क्षेत्रसँगै भारतका पर्यटक पनि भित्र्याउन सकिने ंभावना देखिन्छ । यो सडकको गुल्मीखण्डसम्म तीव्र रुपमा काम भए पनि बागलुङ खण्डमा हुनसकेको छैन ।