खलंगा– बिहीबार फेरि जुम्लामा बिहानैदेखि हिमपात भएको छ । अघिल्लो हिउँ नपग्लिई पुनः बिहानैदेखि परेको हिउँले डाडाँकाँडा जम्मै सेतै बनाएको छ । लगातारको हिमपातका कारण जनजीवन कष्टकर बन्दै गएको बताइएको छ ।
चिसोका कारण यातायात प्रभावित भएको छ, हवाई यातायात त झन् बन्द नै छ, सरकारी कामकाज ठप्प रहेको छ र अस्पतालमा बिरामीको संख्या समेत बढको छ । हिउँमा बच्न र तातो गरि बस्न स्थानीय प्रशासनद्वारा कैयौँ पटक सूचनासमेत जारी भएको छ । रुघाखोकीको बिरामीको पनि अस्पतालमा ओइरो लागेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका डा. अर्जुन तिवारीले बताउनुभयो ।
जुम्लाको तापक्रम घट्दै गएको जुम्लास्थित जल तथा मौसम विज्ञान कार्यालयले जानकारी गराएको छ । आजको न्यूनतम तापक्रम ०.७ डिग्री रहने बताइएको छ । मौसम सफा भएपछि मात्र तापक्रम बढ्ने अनुमान गरिएको छ ।