गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक हुँदै आएको एक मात्र उडान पनि रोकिएको छ । यात्रु नभएको बताउँदै जजिरा एयरवेजले दैनिक हुँदै आएको उडानलाई सातामा तीनपटक गर्ने जानकारी दिएको छ ।
जजिराले असोजको २६, २७ र २८ गते हुनुपर्ने उडान रोकेपछि उक्त विमान हुँदै वैदेशिक रोजगारीमा जाने यात्रुलगायत अन्य यात्रुसमेत प्रभावित भए । यात्रुहरू गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमै रातभरी बसेर विमान कुरे पनि जजिराले उडान गरेन।
तीन दिनसम्म जम्मा भएका यात्रुहरूमध्ये केही पर्यटक मात्र बोकेर शनिबार जजिराले एउटा उडान भरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले जानकारी दिए ।
दाहालले जजिरा एयरवेजको आधिकारिक प्रतिनिधिले जहाजको लिज सकिएको र नयाँ जहाज खरिद गर्ने प्रक्रियामा रहेको कारण नियमित उडान प्रभावित हुने जानकारी गराएको बताए । उनले अक्टोबर महिनामा जजिराले नियमित उडान गर्न नसक्ने बताउँदै अक्टोबरपछि उडान नियमित हुने आश्वासन पाएको बताए ।
विमाननस्थलका प्रमुखले नयाँ जहाजको समस्या बताइरहँदा जजिरा एयरवेजका कन्ट्री म्यानेजर अमित नागरथले भने यात्रु नपाएको कारण उडान कम गर्नुपरेको बताएका छन् । पहिला सातामा तीनवटा उडान गर्दा राम्रै यात्रु पाएको तर, दैनिक उडान गर्दा समस्या भएको उनले बताए । उनका अनुसार अब पहिलेझैं सातामा तीन उडान हुने छन् ।
नागरथले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा माग नै नरहेको दाबी गरे । उनका अनुसार माग नभई खाली विमान उडाउन सकिने अवस्था छैन । आफ्नो खर्च पनि नउठ्नेगरि विमान नउडाउने उनी बताउँछन् ।
जजिराको उडान प्रभावित हुनुमा यहाँका सरकारी निकायहरूको पनि उत्तिकै दोष रहेको छ । तत्कालीन श्रममन्त्री किसान श्रेष्ठले चर्चाकै लागि भैरहवामा स्थापना गरेको श्रम कार्यालयले अहिलेसम्म काम गरेको छैन ।
गौतमबुद्ध विमानस्थलका प्रमुख दाहालले यात्रुहरू अहिले पनि श्रम, रोजगार, मेडिकललगायत कारण काठमाडौंमै जानुपरेको समस्याका कारण पनि विमानस्थल सञ्चालनमा कठिनाइ छ ।निकै तामझामका साथ विमानस्थल उद्घाटन गरिएको थियो । तर, सरकारी व्यवस्थापन फितलो हुँदा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भविष्यमाथि नै प्रश्न उठ्न थालेको छ ।
एकातिर राज्यको अर्बौं लगानी भइसकेको छ भने अर्कोतिर यात्रुहरुले पाउने सस्तो र सहज सेवाबाट पनि वञ्चित हुनुपर्ने अवस्था छ । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्दा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रुलाई उडान सस्तो पर्छ । तर, श्रम स्वीकृति, पुनः श्रम स्वीकृति र मेडिकललगायत काम लागि काठमाडौं आउनुपर्दा वैदेशिक रोजगारमा जानेहरु काठमाडौंबाटै उड्न बाध्य छन् । यो फितलो व्यवस्थापनको परिणाम हो । राज्यले यसतर्फ समयमै ध्यान दिनुपर्छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक १, २०७९ १२:२०