कास्की – म्याराथन धाविका पुष्पा भण्डारी घाइते भएकी छन् । पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा महिला म्याराथन प्रतियोगितामा दौडिरहेको बेला मंगलबार खुट्टामा चोट लागेर उनी घाइते भएकी हुन् ।
उनले भनिन्, ‘करिब २० किलोमिटर दूरी पार गर्ने क्रममा उनको खुट्टा फ्याक्चर भएको हो । २० किलोमिटर पार गर्दै थिँए । पहिला वास्ता गरिनँपछि अरू १० किलोमिटर कुदें, त्यसपछि कुद्नै नसक्ने गरि दुख्यो अनि कुद्न सकिनँ ।’
उनलाई पोखरास्थित अन्नपूर्ण हस्पिटलमा उपचार गरिएको छ । उनको गोलीगाँठोभन्दा तलको भागमा केही समस्या देखिएकाले प्लास्टर गरिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
पुष्पाले ११३औँ साग गेममा २ घन्टा ५० मिनेट ११ सेकेन्डमा म्याराथन पूरा गरी महिला म्याराथनमा पहिलो रजत पदक जितेकी थिइन् । उनी महिला म्याराथनतर्फ साग अन्तर्राष्ट्रिय पदक जित्ने पहिलो खेलाडी हुन् ।
एपीएफ क्लबमा आबद्ध पुष्पाले यसपटक साग गेममा भन्दा राम्रो समय निकाल्ने तयारी भए पनि खुट्टामा चोट लागेका कारण आफ्नो सपना पूरा नभएको प्रतिक्रिया दिइन् ।
प्रकाशित मिति: मंगलबार, कात्तिक १, २०७९ १५:२२