काठमाडौं– संयुक्त राष्ट्रसङ्घ र अन्तरराष्ट्रिय मानवीय सहायता साझेदारहरूले बाढीबाट प्रभावित भएका चाडका १० लाखभन्दा बढी नागरिकका लागि सहायता सामग्री उपलब्ध गराउने प्रयासलाई तीव्र गतिमा अघि बढाएका छन् ।
राष्ट्रसङ्घका प्रवक्ताका अनुसार देशको दक्षिणी भाग सबैभन्दा बढी प्रभावित भएको छ । बाढीबाट सिलालगायत केही पूर्वी प्रान्तमा पनि असर पुगेको नदीनाला खतराको सीमाभन्दा माथिबाट बगेका छन् । देशका २३ मध्ये १८ प्रान्त बाढीको चपेटामा परेका छन् ।
राष्ट्रसङ्घ र उसका मानवीय साझेदारले चाड सरकारसँगको सहयोग र समन्वयमा करिब दुई लाख मानिसलाई खाना, औषधि, त्रिपाल, लामखुट्टे धपाउने धुप, सौर्य बत्ती र अन्य सामग्री उपलब्ध गराएका तथा थप सहायता सामग्री अन्य बाढीपीडितमाझ पु¥याउन स्रोत परिचालनका प्रयासहरू बढाइएकोमहासचिव एन्टोनियो गुटेरेसका मुख्य प्रवक्ता स्टेफेन डुजारिकले बताएका छन् ।
बढ्दो पानीको सतहले राजधानी एनजामेनाका साथै आसपासका क्षेत्र पूर्णरूपमा डुबेकाले सर्वसाधारण आफ्नो घर छोड्न बाध्य भएका छन् । सहायता सामग्री पु¥याउन पनि कठिनाइ भएको छ । गत असारदेखिको भारी वर्षाले चाडलाई जलमग्न पारेको छ ।
प्रवक्ता डुजारिकका अनुसार बाढीविरुद्धको प्रतिकार्यका निम्ति चाडलाई सहयोग गर्न राष्ट्रसङ्घले केन्द्रीय आपत्कालीन कोषबाट गत महिना ६० लाख अमेरिकी डलर छुट्याएको थियो ।
प्रकाशित मिति: बुधबार, कात्तिक २, २०७९ १६:५३