काठमाडौं-निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ दोस्रो चरणको मतपत्र ढुवानी आजबाट सुरु गरेको छ । पहिलो चरणअन्तर्गत प्रदेश नं.१, मधेस प्रदेश र बाग्मती प्रदेशका लागि मतपत्र ढुवानी भइसकेको छ ।
समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रतिनिधिसभातर्फ देशभरका लागि कुल २ करोड ४ लाख २१ हजार र प्रदेश सभातर्फ २ करोड १ लाख ८४ हजार मतपत्र यसअघि नै छपाइ भइसकेको छ ।
यसबाहेक निर्वाचन आयोगले निर्वाचन शिक्षाका लागि २२ लाख ४० हजार नमुना मतपत्र छापेर यसअघि नै जिल्लामा पठाइसकेको छ ।
प्रत्यक्षतर्फ १ करोड ३७ हजार मतपत्र छपाइ
मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ बुधबारसम्म १ करोड ३७ हजार मतपत्र छपाइ सम्पन्न भएको छ ।
छापिएका मध्ये प्रतिनिधिसभातर्फको मतपत्र ५० लाख १३ हजार र प्रदेशसभातर्फको मतपत्र ५० लाख २४ हजार रहेको निर्वाचन आयोगले जनाएको छ ।
योसँगै प्रतिनिधिसभातर्फ सल्यान, डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम पश्चिम, सुर्खेत, बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी र डडेलधुरा जिल्लाको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको मतपत्र छपाइ सम्पन्न भएको छ ।
प्रदेशसभाका लागि पनि सल्यान, डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम पश्चिम, सुर्खेत, बाजुरा, बझाङ, दार्चुला, बैतडी र अछाम जिल्लाको मतपत्र छपाइ सम्पन्न भएको छ ।
आयोगले भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा मतपत्र छपाइ गरिरहेको छ ।