काठमाडौं– सिन्धुलीको सदरमुकाम सिन्धुलमाढीको बसपार्क अगाडि मधुटार जाने बाटो छेउमा लामै जुत्ता–चप्पल बनाउनेहरूको लाइन देख्न सकिन्छ । त्यहिँ लाइनभित्रै भेटिन्छन् महोत्तरीको गौशाला नगरपालिका–११ कालिपुलका ४३ वर्षीय नथुनी राम।
जुत्ता–चप्पलको तलुवा फेर्नु, फाटेको टल्काउनु, च्यातिएको सिउनु र चुडिएको जोड्नु उनको पेसा हो र त्यहि पेसाले उनको जीविका चल्दैछ । यसरी जुत्ता सिएरै उनको दुई दशक बितिसकेको छ ।
हजुरबाले गर्दै आएको कामलाई बुवाले निरन्तरता दिए। रोगले थलिएर उमेरमै बुवाको मृत्यु भएपछि जेठो सन्ताननथुनीलाई नौ जनाको परिवार पाल्ने जिम्मेवारी थपियो । आर्थिक अभावका कारण पढ्न लेख्न नपाएका उनले सानै उमेरमा बुवाले गर्दै आएको पेसा अँगाल्न बाध्य भए।
उनले १६ वर्षे हुदा यो पेसा सुरु गरेका हुन् । हप्ताको एकपटक सरकारी कर्मचारीले लगाउने छालाका जुत्ता टल्काउन सिन्धुलीमाढी आउथे उ । महोत्तरीबाट २० रुपैयाँ गाडी भाडा तिरेर माढीबजार आएको उनलाई हिजोजस्तो लाग्छ । त्यो बेलाको सिन्धुली सम्झिँदा अहिले सपनाजस्तो लाग्ने उनी बताउछन् ।
उनका अनुसार पछिल्लो समय जिल्लामा आमूल परिवर्तन आएको छ । त्यतिबेला यहाँ काठका घर पातला थिए । अहिलेको फोस्रेटार, धुराबजार, मधुटार, गैरीबजार, ढुङ्ग्रेबासमा घना जङ्गल थियो । बसपार्कमा एउटा मात्र काउन्टर थियो । दैनिक दुई–चारवटा मात्र बस चल्थे ।
समय सधैँ कहाँ एकैनास हुने रहेछ र? आफ्नो केश फुल्न थाले । माढीबजारको रङ बदलियोे । चहलपहल बढ्दै गयो । गाँस, बास, कपासलगायतका उपभोग्य सामग्रीको मूल्य आकाशियो । समय पूरै परिर्वतन भयो । उनी भन्छन्, “तर हाम्रा दुःख ज्यूँका त्यूँ छन् । मेहेनत र सङ्र्घषले विश्राम लिएको छैन । थकानले विश्राम पाउँदैन ।”
आधुनिक प्रविधिको जमानामा पनि उनको काम गर्ने शैली पुरानै छ । जीवन भोगाइमा पृथकता आउन सकेको छैन । उनले आफ्नो जीवनशैली परिर्वतन गर्न नचाहेको पनि होइन । आर्थिक अवस्था कमजोर भएपछि रहर एकातिर आफ्नो बाध्यता अर्कोतर्फ हुने बताए। “मेरो छोरो र भाइहरु सबैले यस्तै काम गर्छन्, जागिर गर्न पढेका छैनन्”, बुवाआमाले मलाई पढाउन सक्नुभएन, मैले छोराछोरीलाई पढाउन सकिनँ”, उनले भने ।
जुत्ता, चप्पल सिलाएर कमाएको पैसाले अत्यावश्यक गाँस, बास र कपास पु¥याउनै धौधौ हुने उनको भनाइ छ । “कोठाभाडा, बिजुली बत्ती र पानीको लागि महिनैपिच्छे पाँच हजार छुट्याउनु पर्छ । पाँच जनाको परिवारलाई चामल, तरकारी, नुनतेल, लुगाफाटो, चाडबाडमा पाहुनाको सत्कारमा खर्च ठूलो छ । कमाई महिनामा १०–१५ हजार पनि हुँदैन”, उनले सुनाए ।
नथुनीको भाइ राजकुमार रामको कथा दाइको भन्दा कम छैन । सानो उमेरमा आर्थिक अभावका कारण ठूलो दबाबमा परे । दाइको कमाइले बिरामी आमाको उपचार गर्न खर्च पुगेन । मजदुरी गर्न भारत लागे । लेखपढ नभएको उनलाई चाहेको जस्तो काम मिलेन । बल्लतल्ल मिलेको काम पढलेख नभएकै कारण गर्न सक्नु भएन । भारतमा टिक्न गाह्रो भयो । जुत्ता, चप्पल बनाउन, सिलाउन, तलुवा लगाउनलगायतको सीप सिकेर गर्ने निर्णयमा पेगे । सीप सिक्ने तालिम लिन पैसा थिएन । अरुले काम गरिरहेको ठाउँमा गएर हेरेकै भरमा सबै सीप जानेको उनले बताए ।
राजकुमारसँग नयाँ जुत्ता, चप्पल बनाउने कला पनि छ । मागअनुसार जस्तो भन्यो त्यस्तै बनाइदिन सक्ने सीप आफूसँग भएको उनले बताए । यसका लागि स्रोत र साधन जुटाउन नसकेको उनको भनाइ छ । “कोठा लिएर पसल खोल्नसमेत नसकेर धुँलोधुवा, उखरमाउलो गर्मी, झरी, हावाहुरी सबै सहेर दैनिकी सडकमै बताउनुपरेको छ”, उहाँले भन्नुभयो, “पसल खोल्न पैसा छैन । बिनाधितो बैंकले ऋण दिँदैन । धितो राख्न जमिन छैन, सीप भएर के गर्नु ? ” उनले दुःखेसो पोखे ।
जुत्ता चप्पल सिलाउँदा–सिलाउँदै रोगले थला परेका बुवाको उपचार गर्दा ऋण लाग्यो, बाँच्नु भएन । आमाको पनि दुःखद् निधन भयो । एक जना दाइले जुत्ता सिलाएको कमाइले पेटभरि खानै पुग्थेन । पढ्न जान कपी नै हुँदैन थियो ? उनले विगतलाई सम्झिँदै भने, “नपढेता पनि सीप सिकेको छु । यही सीपले चार जनाको परिवार पालेको छु । कहिलेकाहीँ कमाइ नै हँुदैन । व्यवहार टार्न मुस्किल पर्छ । बाँकी दिनमा एक सयदेखि एक हजारसम्म कमाइ हुन्छ ।”
यही पैसाले छोराछोरीलाई सरकारी स्कुलमा पढाएको समेत उनले बताए। विदेशमा मजदुरी गर्नुभन्दा यसैमा खुसी मिलेको उनी बताउछन् । जुत्ता, चप्पलको उद्योग चलाउन स्थानीय सरकारको ढोका पटकपटक ढकढकाउँदा समेत केही सयोग लिन नसकेको उनको गुनासो छ । मेसिनलगायतका आवश्यक सामान किन्न तीन लाख रुपैयाँ मात्र ऋण पाएको भए यसैबाट कमाइ हुन्थ्यो र तिर्र्थे भन्ने उनलाई लागेको छ ।