काठमाडाैं - मेगा बैंकले भू–सेवा केन्द्र संचालनमा ल्याएको छ। ग्राहकहरुलाई सहज रुपमा घर, जग्गा, अपार्टमेन्टको रोक्का तथा फुकुवा कार्य सहज रुपमा उपलब्ध गराउने उद्देश्यले भू–सेवा केन्द्र संचालनमा ल्याएको हाे ।
भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको भूमि व्यवस्थापन तथा अभिलेख विभागसँगको समन्वयमा भू–सेवा केन्द्र संचालन निर्देशिका, २०७६ तथा भू–सेवा केन्द्र संचालन निर्देशिका (पहिलो संशोधन), २०७८ बमोजिम भू–सेवा केन्द्र संचालनको अनुमति लिई घर, जग्गाको रोक्का तथा फुकुवा अनलाइनबाट गर्ने कार्यको सुरुवात गरेको मेगा बैंकले जनाएको छ ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागमा आयोजित समारोहमा भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव रामप्रसाद थपलिया तथा मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहको उपस्थितिमा अनलाइन प्रणालीमार्फत धितो बन्धक रोक्का, रोक्का फुकुवा गर्ने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।
समझदारी पत्रमा मेगा बैंकका तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ तथा भूमि व्यवस्थापन तथा अभिलेख विभागका तर्फबाट महानिर्देशक पिताम्बर घिमिरेले हस्ताक्षर गरेका थिए ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक ४, २०७९ ०८:५५