कञ्चनपुर– कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वाणीका कमला जोशीलाई गाईपालन गरेपछि अरूसँग आर्थिक सहयोग माग्नु परेको छैन । केही खर्च गर्नु परेपनि श्रीमानको तलब कुर्नुपर्ने भएपछि उनले गाईपालन गर्ने योजना बनाएकी हुन् ।
भूमिराज कृषि तथा पशुपालन फार्म दर्ता गरेर १ लाखमा ५ वटा गाई खरिद गरेर व्यावसायिक रूपमै गाईपालनमा लागेकी उनले अहिले लाखौँको कारोबार गर्छिन । उनले भनिन्, ‘श्रीमान ट्रक चलाउनुहुन्छ सानोतिनो केही खर्च गर्न श्रीमानकै तलब कुरेर बस्नुपर्ने भएपछि गाईपालन गर्ने सोच बनाएकी हुँ । अहिले दूध बेचेर घरखर्च चलाउन सक्ने भएकी छु ।’
पाँच वटा गाईबाट सुरुआत गरेकी उनले गाईपालनमा राम्रो सम्भावना देखेपछि व्यवसाय बढाउँदै गएकी हुन् । घर छेउमै वार्षिक १ लाख २० हजार रूपैयाँमा २ बिघा जग्गा भाडामा लिएर घाँसखेती गरेकी छिन् ।
अहिले उनको फार्ममा २५ वटा गाई छन् । उनले दैनिक ७० देखि ८० लिटर दूध बिक्री गर्ने गरेको बताइन् । उनले भनिन्, ‘दूध बिक्री गर्न अत्तिरिया बजारसम्म आफैँ स्कुटर चलाएर जाने गर्छु । स्थानीय बजारमा पनि दूध खपत हुन्छ तर म दुग्ध विकास संस्थानको अत्तरियास्थित संकलन केन्द्रमा पुर्याउँछु ।’
१ लाख रूपैयाँबाट सुरु गरेको व्यवसायमा अहिले उनले मासिक लाखभन्दा बढीको कारोबार गर्ने गरेको बताइन् । उनले भनिन्, ‘घरमा बिना काम बस्नुभन्दा त केही गरौँ भन्ने आँट गरेर व्यवसाय सुरु गरेकी हुँ अहिले श्रीमानले पनि सघाउनु हुन्छ । मासिक १५ हजार तलब दिने गरि दुई जना कामदार छन् ।’
उनले फार्ममा काम गर्ने कामदार नपाउँदा समस्या हुने गरेको गुनासो गरिन् । उनले भनिन्, ‘गाई थप गर्ने योजना थियो एक्लै सकिँदैन कामदार पाउन मुस्किल पर्छ । आँट गरेर केही काम गरे सफल भइने रहेछ ।’
अहिले उनले गाईमात्र नभएर बाख्रापालनसमेत गरेकी छिन् । बाख्रापालनमा समेत राम्रो सम्भावना देखेकी उनले बाख्राको आधुनिक खोर निर्माण गरेर बाख्रापालन गर्ने योजना बनाएकी छिन् । उनले भनिन्, ‘अहिले २० वटा छन् । पछि बाख्रा थप्ने योजना बनाएकी छु । हामीले जति मेहनत गरे पनि मूल्यांकन हुँदैन ।’
उनले गाउँमा दुईचार गाई पाल्नेले सरकारबाट लाखौँको अनुदान लिने गरेको व्यावसायिक रुपमा लाग्नेहरुलाई कतैबाट सहयोग नभएको गुनासो गरिन् । उनले भनिन्, ‘कृषि काम गर्नेलाई अनुदान दिने कुरा समाचारमा धेरै सुने अहिलेसम्म कतैबाट सहयोग भएन । हामी काम गर्नेलाई त वडामा बजेट आएको पनि थाहा हुँदैन ।’