बाग्लुङ –पर्वत ग्याँदीकी धनमाया नेपाली आजभोलि बाग्लुङ बजारको चोकचोक र गल्लीगल्लीमा भेटिन्छिन् । काँधमा ढाको र हातमा पोकापुन्तुराका साथमा भेटिने उनले फलफूल बेच्छिन् । उनको कथा भने नमीठो छ ।
उनले चोकचोक र गल्लीगल्लीमा बसेर फलफूल बेच्न थालेको १६ वर्ष भयो । यसरी फलफूल बेच्नु उनका रहर होइन । पोखराबाट सुरु भएको फलफूल बेच्ने यात्रा म्याग्दीको बेनी हुँदै बाग्लुङ बजार आइपुगेको छ ।
एक दश पोखराका विभिन्न ठाउँमा फलफूल बेच्ने र जुत्ता सिउने काम गरेकी उनी बाग्लुङसम्म आएकी छिन् । पोखरा छाडेर म्याग्दीको सदरमुकाम बेनी आएकी उनले करिब पाँच वर्ष फलफूल तथा तरकारी बेच्थिन् । बेनीमा राम्रो कमाइ नभएपछि चार महिनादेखि बाग्लुङ बजारमा फलफूल बेचिरहेकी छिन् । यहाँबाट पनि उनलाई काम गर्ने वातावरण सहज छैन ।
‘पढेलेखेको छैन, मैले काम पाउने भनेको होटलमा जुठो भाँडा माझ्ने हो, त्यहाँ पनि अरुको गाली खानुपर्छ, त्यही भएर मैले फलफूल बेच्न थालेको हुँ, मैले यसरी बाटोबाटोमा फलफूल बेच्न थालेको १६ वर्ष भयो’, उनले भनिन्,‘ज्यान पाल्न पर्यो, काम नगरी पाल्न सकिन्नँ, जसोतसो चलेकै छ, दुःख भन्ने कुरा त्यस्तै हो, चोर्न ढाँट्न जानेको छैन, यस्तो काम गर्न नपरोस्, कामजस्तो भए पनि गर्छु, सानो–ठूलो मानिँदैन ।’
४० वर्षीया धनमायाले १० वर्ष पोखराका सडक र गल्लीमा बसेर फलफूल बेच्ने र जुत्ता सिलाउने काम गरेको स्मरण गर्दै महानगरले सडकबाट हटाएपछि बेनी पुगेको बताइन् । उनले पोखरामा राम्रो कमाइ भए पनि काम गर्न नपाएको दुःखेसो पोखिन् । बेनीमा पाँच वर्ष काम गर्दा कमाइ नभएपछि बाग्लुङ आएको उनको भनाइ छ । यहाँ आएर काम गर्दादेखि नै अवरोध भइराखेको उनले बताइन् ।
‘पोखरामा राम्रो कमाइ हुन्थ्यो, त्यहाँ धेरै मान्छेको आवतजावत पनि भएको हुँदा फलफूल पनि राम्रै बिक्री हुन्थ्यो, मैले पोखरामा जुत्ता पनि सिलाउँथे, पछि धेरै मान्छेले नराम्रो नजरले हेरे, काम गरेको रिस गरेपछि मैले जुत्ता सिलाउन छाडेँ, फलफूल बेच्न पनि महानगरले दिएन, सडकबाट ढोकोसँगै उठाइदियो, त्यही भएर म बेनी आएँ’, नेपालीले भनिन्, ‘बेनीमा फलफूलसँगै टमाटर पनि बेच्थेँ, बुढाले कोट सिलाउनुहुन्थ्यो अरुको टेलरमा, कमाइ राम्रो नभएपछि बाग्लुङ आएका हौँ, यहाँ आएको पनि तीन–चार महिना भयो, बाटोमा बेच्न हुँदैन भनेर नगरपालिकाले भनिराखेको छ, दुःख गरेर खान पनि दिएनन् ।’
धनमायाको चार जनाको परिवार छ । दुई छोरी र श्रीमान् रहेको नेपालीको परिवार यसरी फलफूल बिक्री गरेर चल्दै आएको छ । दुई छोरीले पोखरा पढ्ने र श्रीमानले यहाँको एक टेलरिङ सेन्टरमा कपडा सिलाउने काम गर्ने गरेको उनको भनाइ छ । ‘हाम्रो अरू केही छैन, यही काम गर्ने खाने हो, श्रीमानले कोट सिलाउनुहुन्छ, छोरीहरूले पोखरा बसेर पढ्छन्, व्यापार खासै छैन, दसैँका बेला राम्रो भयो, अहिले कम छ’, उनले भनिन् ।
नेपालीले स्याउ, सुन्तला र मौसमअनुसारका फलफूल बेच्ने गर्छिन् । यो सिजन स्याउ, अम्बा र सुन्तालको भएको अन्दै खुद्रा पसलबाट खरिद गर्ने र बजारको दरमा बिक्री गर्ने गरेको उनको भनाइ छ । फलफूल बेचेर दैनिक रु पाँच सयदेखि एक हजारसम्म कमाउने भन्दै कहिलेकाहीँ रु एक हजार पाँच सयसम्म आम्दानी हुने गरेको बताउँछिन् ।
‘अहिले खासै नाफा छैन, फलफूल बेच्दा कहिले चार सय हुन्छ, कहिलेकाहीँ एक हजार पनि हुन्छ, महिनाभरिको हिसाब गर्दा त्यही रु १५ देखि २० हजारको कमाइ हुन्छ, आफ्नो घर छैन, भाडा तिर्नुपर्यो, खानुपर्यो, छोरीलाई पढाउनुपर्यो, खर्च बढेकोबढयै छ, कमाइ घट्दो छ’, उनले भनिन्, ‘अब कता गएर के गर्ने हो, केही काम पाइँदैन, यहाँ पनि नगरपालिकाले सडकमा बसेर नबेच्न भनेछ, केही काम दिए त गर्नुहुन्थ्यो, काम नगरेसम्म खान–लाउन पुग्दैन ।’
बाग्लुङ नगरपालिकाले बजार क्षेत्रका सडकमा यत्रतत्ररूपमा राखिएका सामान हटाउन थालेको छ । यसले गर्दा ठेला व्यापारी समस्यामा परेका हुन् ।
प्रकाशित मिति: आइतबार, कात्तिक ६, २०७९ ११:१८