काठमाडौं–नेपालीको दोस्रो ठूलो पर्व तिहार सुरुभएसँगै यतिखेर घरघरमा महिलाहरू तिहारका लागि आवश्यक खानेकुरा बनाउन व्यस्त छन् । तिहार नजिकिएपछि महिला एक साताअघिदेखि नै रोटी पकाउन जुट्ने गर्दछन् । टीकापुरकी प्रगति जैसी र उहाँको साथीले एक साताअघिबाट रोटी पकाउन सुरु गरेका छन् ।
उनीहरु पालैपालो सबैका घरमा रोटी पकाइरहेका छन् । “हामी हरेक वर्ष तिहारमा रोटी पकाउँछौँ, सबै जना मिलेर पालैपालो पकाउँछौँ, यसरी पकाउँदा सजिलो र रमाइलो हुन्छ”, जैसीले भने, “तिहारमा देउसीभैलो खेल्नेलाई खानेकुरा दिन, भाइलाई कोसेली दिन र छिमेकीलाई बाँड्नका लागि पनि धेरै रोटी पकाउनुपर्छ”, उनले भने, “एउटै घरमा पाँच किलोदेखि १० किलोसम्म पिठोको प्रयोग हुन्छ । अन्य मीठाइका परिकार पनि बन्छन् ।” तिहारमा धेरैजसो नेपालीका घरमा सेल रोटी, फिनी रोटी, अनरसा अनिवार्य नै पाक्छ । यसबाहेकका अन्य मीठाइ र रोटीका परिकार पनि तिहारमा पकाउने गरिन्छ ।
लम्कीचुहाकी झरना विक र उनका छिमेकी पनि तिहारको रोटी पकाउन जुटेका छन् । उनीहरूले पनि पालैपाले पकाउन थालेका छन् । “तीन घरमा पकाएर सक्यौँ, अब तीन जनाको घरमा पकाउन बाँकी छ”, उनले भने, “मैले पनि पाँच किलो मैदा किनेकी छु । विभिन्न किसिमका गुलिया र चिल्ला रोटी बनाउने गरिन्छ । तिहारलाई रोटीको पर्व भनेर चिन्छौँ ।”
यसरी हुनेखानेले तिहार तथा पर्वमा खर्च गर्दा नहुनेलाई भने पीडा हुन्छ । टीकापुरको एकतानगर शिविरकी रुपा विकलाई भने सबैले तिहारमा चहलपहल गर्दा पीडा हुन्छ । “छिमेकीहरू रोटी पकाउन थाले, किनमेल गर्छन्, मानिसको आउजाउ बढेको छ”, उनले भने, “हामीलाई छाक टार्नै मुस्किल छ । कसरी थरिथरिका रोटी पकाउने होला ? छोराछोरीले सताएका छन् ।” रुपा आर्थिक अवस्था कमजोर हुुनेका लागि चाडपर्वले निकै पीडा दिने बताए । “छिमेकीजस्तै गर्न नसक्दा पीडा हुन्छ, बालबालिका पनि मान्दैनन्”, उनले भने, “तिहारको दिन सेलरोटी पकाएर केटाकेटीको तिहार मनाइदिने योजना छ । थरिथरिका रोटी पकाउन त रकम छैन ।”
यसरी चिल्ला र गुलिया खानेकुराले मधुमेह, उच्च रक्तचापलगायतका समस्या भएकाले गुलियो र चिल्लो खानेकुरा नखाएकै राम्रो हुने चिकित्सक बताउँछन् । टीकापुर अस्पतालका डा सम्वाद खरेल गुलियोले शरीरमा ग्लुकोजको मात्रा बढाउने, चिल्लोले ग्याष्ट्रिकको समस्या निम्त्याउने भएकाले यस्ता खानेकुरा कम प्रयोग गर्न सल्लाह दिन्छन् । “हरेक चाडपर्वमा बढी खानेकुरा खाइन्छ, यसले मानिसको स्वास्थ्यमा असर पार्छ”, उनले भने, “खानपानमा ध्यान दिनुपर्छ । चाडपर्वमा धेरै चिल्ला र गुलिया खानेकुरा कम बनाउने, कम खाने, खाइहालेमा पनि फलफूल र सागपात पनि खाने गर्नुपर्छ ।”
प्रकाशित मिति: आइतबार, कात्तिक ६, २०७९ १२:१०