नेपाली खेलकुदको ‘कुम्भमेला’ नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता हालै सम्पन्न भएको छ । विगतमा दुई पटकसम्म मिति घोषणा भएर पनि रोकिएको राष्ट्रिय प्रतियोगिता पोखरा र गण्डकी प्रदेशका आठ जिल्लामा असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना भएको थियो ।
कोरोना महामारीका कारण रोकिएको यस प्रतियोगिता पछिल्लोपटक भने स्थानीय तहको निर्वाचनले प्रभावित तुल्याएको थियो । जे होस्, तेस्रोपटकको घोषणामा राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । यसले खेलाडी र समग्र खेलकुद क्षेत्रमा उत्साह थप्ने काम गरेको छ ।
प्रतियोगिताले सहभागी खेलाडी, प्रशिक्षक र आयोजकमा उत्साह थप्यो भने चार दशकपछि पोखराले खेलकुदको कुम्भमेला आयोजनाको अवसरलाई राम्रैसँग सदुपयोग गरेको छ । प्रतियोगिताका ३६ वटै खेल तोकिएको समयमा, तोकिएकै स्थानमा सम्पन्न भए । खेलाडीहरुले लामो समयपछि आफ्नो खेल कौशल प्रदर्शन गर्ने अवसर पाउनु र केही राष्ट्रिय कीर्तिमान बन्नुले राष्ट्रिय खेलकुद खेलाडीका लागि विशेष रह्यो ।
राष्ट्रको गौरवस“ग जोडिएको प्रतियोगितामा समस्या, अभाव र अव्यवस्था पनि देखियो । प्रतियोगिताकै क्रममा खेल्दै गर्दा एक जना पोखरेली प्याराग्लाइडिङ खेलाडी निसिम थापाको दुर्घटनामा परी भएको मृत्युले सबैमा पीडा पनि दियो । खेलाडीले समयमै खेल सामग्री पाएनन् । खेल सुरु हुँदासम्म मैदानको स्तरोन्नति बा“की नै रह्यो । खेल सामग्रीको गुणस्तरमा प्रश्न उठे । संघीयता कार्यान्वयनपछिको पहिलो राष्ट्रिय खेलकुदमा संघ र प्रदेशबीच समन्वयको अभावले गर्दा अझ राम्रो गर्न सकिने सम्भावना रहे पनि त्यसो हुन सकेन ।
संघीयताको मर्मभन्दा बाहिर गएर राष्ट्रिय खेलकुद आयोजनामा संघ हाबी भएको, संघकै खटनपटन चलेका जस्ता गुनासाहरु पनि यस बीचमा बग्रेल्ती रहे । यद्यपि, समग्रमा राष्ट्रिय खेलकुदले आफ्नो लक्ष्य हासिल गरेको छ । राष्ट्रिय खेलकुद समग्रतामा आफ्नो उद्देश्य हासिल गर्न सफल भयो, आगामी दिनमा यस प्रतियोगिताले निरन्तरता पाउँछ भन्ने सकारात्मक सन्देश पोखराबाट प्रवाह भएको छ । पोखराबाट दशौं राष्ट्रिय खेलकुद मिति घोषणा भइसकेको छ । आगामी २०८१ मंसिर २ देिख ९ गतेसम्म कर्णाली प्रदेशमा राष्ट्रिय खेलकुद गर्ने घोषणा गरिएको हो ।
खेलकुद क्षेत्रलाई राज्यले सधैं प्राथमिकता दिने बताउँदै आएको छ । तर, अझै पनि राज्यको पर्याप्त ध्यान जान नसक्दा खेलकुद क्षेत्रले अपेक्षित उपलब्धि हासिल गर्न सकेको छैन । खेलाडीहरु अत्मसम्मानका साथ खेलकुदमै रहेर बा“च्न सक्ने अवस्था छैन । आर्थिक समस्याका कारण प्रतिभावान खेलाडीहरु पलायन हुने क्रम रोकिएको छैन । यो विषयमा राज्य गम्भीर बन्न सकेको छैन ।
खेलाडीका लागि यस्ता प्रतियोगिताले ठूलो महŒव राख्दछ । तर, नेपालमा नियमित प्रतियोगिता हुन नसक्ने, प्रतियोगिताको व्यवस्थापन फितलो हुने, पूर्वाधार तथा खेल सामग्रीको अभाव हुने समस्याले नेपाली खेलकुद क्षेत्रलाई छाडेको छैन । यो पटकको नवौं राष्ट्रिय खेलकुदमा पनि यही समस्या देखियो । व्यवस्थापकीय कमजोरीका कारण खेलाडीहरुले समस्या भोग्नुप¥यो । खेल सामग्री नपाएर खेलाडीले अभ्यास गर्न नपाएका समाचारहरु बाहिर आए ।
यस्ता समस्या आगामी दिनमा दोहोरिन नदिन सरोकारवाला निकाय तथा तिनका पदाधिकारीहरु जिम्मेवार बन्न आवश्यक छ ।विभिन्न समस्या र कमजोरीहरुका बीच सम्पन्न राष्ट्रिय खेलकुदले समग्रमा सकारात्मक सन्देश छोडेको छ । खेलाडीहरुमा उत्साह जगाएको छ । यसलाई निरन्तरता दि“दै अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा प्रतिस्पर्धा गर्न सक्ने खेलाडीहरुलाई अगाडि ल्याउन आवश्यक छ । यसमा सरोकारवाला सबै जुट्नुपर्छ ।
प्रकाशित मिति: आइतबार, कात्तिक ६, २०७९ १६:५४